राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्य पदका लागि माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ५ बजेका लागि बालुवाटारमा बोेलाएको मन्त्रिपरिषदको आकस्मिक बैठकले संविधान बमोजिम राष्ट्रियसभा सदस्य पदका लागि माघ २४ गते निर्वाचन गर्ने प्रस्ताव पारित गरेको स्रोतले जनाएको छ ।

संविधानको धारा ८४ को उपधारा ८ बमोजिम प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनको परिणाम निर्वाचन आयोगले सार्वजनिक गर्नु पूर्व संघीय संसद अन्तर्गत माथिल्लो सभाको निर्वाचन अनिवार्य भएको कारण सरकारले हालै कार्यान्वयनमा आएको राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशका आधारमा निर्वाचनको मिति तय गरेको हो ।

संविधानको उक्त धारा र निर्वाचन ऐेनका आधारमा उक्त दिन हालै निर्वाचित ५५० जना प्रदेशसभा सदस्य तथा १५ सय ६ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले सात प्रदेशमा मतदान गरी ८ जनाका दरले निर्वा्चित गर्नेछन् ।

ती ८ जना मध्ये दलित र अल्पसंख्यक तथा अपांगगरी दुई जना सदस्य बहुमतीय आधारमा तथा तीन महिला र तीन खुला सदस्य एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा निर्वाचित हुने छन् ।

मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका पदाधिकारीहरुको म्याद पनि थप गरेको छ ।

Published : Friday, 2018 January 5, 5:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया