एमालेकै लाइनमा राष्ट्रपतिको दवाव, आयोगले पनि दियो ठाडै जवाफ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले भेट गरेका छन् ।

शीतल निवासमा बिहीबार भएको भेटमा राष्ट्रपति भण्डारीले मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गराउन आयोगले गरेको कार्यको प्रशंसा गरिन् ।

राष्ट्रपति भण्डारीले जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न निर्वाचनको मतपरिणाम संविधान र प्रचलित कानूनको मर्म र भावना अनुसार समयमै सम्बन्धित निकायमा पेश गर्नु उपयुक्त हुने सुझाव पनि दिइन् ।

यसअघि एमालेले निर्वाचन परिणाम छिटो सार्वजनिक गर्नुपर्ने भन्दै विभिन्न किसिमबाट दवाव दिँदै आएको छ । एमालेले आफ्ना भातृसंगठनहरूलाई सडकमा समेत उतारेर निर्वाचन आयोगको विरोध गर्दै आएको छ ।

राष्ट्रपतिले प्रदेश प्रमुखहरूको नियुक्ति नभइसकेको अवस्थामा प्रदेश सभाका सदस्यहरू निर्वाचित भएको विवरण बुझाउन तथा शपथ ग्रहण गराउनेसम्बन्धमा पनि जिज्ञासा राखेकी थिइन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेश सभा सदस्यको समानुपातिकतर्फको सिट बाँडफाँड गरी दलहरूले प्राप्त गरेको सिट तोक्ने कार्य सम्पन्न भई प्रचलित कानून अनुसार दोस्रो पटक बन्दसूचीलाई समावेशी समूह अनुरूप सच्याएर ल्याउन दलहरूलाई समय दिएको बताएका थिए ।

प्रमुख आयुक्त डा. यादवले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले प्राप्त गर्ने सिट संख्या तोकी दलहरूलाई पत्राचार गर्न आयोगलाई संवैधानिक एवं कानुनी अड्चन देखिएको र राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा हुन बाँकी नै रहँदा पनि आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीलाई अगाडि बढाएको जानकारी गराएको जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2018 January 4, 5:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया