कांग्रेसका उम्मेदवार हराउन कांग्रेसकै नेताले गरे ५ करोड खर्च

स्याङजा । स्याङजा जिल्लामा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मेडिकल माफियाको आरोप खेप्दै आएका खुमा अर्यालले उपप्रधान एवम् शिक्षा मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ सहितका उम्मेदवारहरूलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसभित्र बबण्ड सुरु भएको छ ।

भैरहवामा युनिभर्सल मेडिकल कलेज सञ्चालन गर्दै आएका खुमा अर्यालले पाँच करोड खर्च गरेर स्याङजा जिल्लामा कांग्रेसका उम्मेदवारहरूलाई हराएको आरोप लगाइएको छ । कांग्रेसका नेताहरूले नै खुमा अर्याललाई मेडिकल माफियाको आरोप लगाएका छन् ।

खुमा अर्यालका भाई भेषराज अर्याल र कमलप्रसाद ढकालले केही दिन अगाडि स्याङजा कांग्रेसको समिक्षा बैठकमा प्रवेश गरेर कुटपिट गरेका थिए । सो घटनामा कांग्रेसका केही नेताहरू घाइते समेत भएका थिए ।

खुमा अर्यालकै निर्देशनमा उनीहरू बैठकमा प्रवेश गरेर होहल्ला गर्दै गोपालमान श्रेष्ठ समूहमाथि आक्रमण गरेको एक नेताले बताए । स्याङजा कांग्रेसभित्रको विवादले अहिले सोही विषयले झन् उग्ररुप लिदै गएको छ ।

खुमा अर्यालसहितका कांग्रेसका नेताहरूविरुद्ध श्रेष्ठ समूहले ज्यान मार्ने प्रयासमा सक्रिय रहेको भन्दै स्थानीय प्रशासनमा उजुरी दिने तयारी समेत भएको थियो । तर, श्रेष्ठ समूहले उजुरी दिएन ।

स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसबाट उम्मेदवार बनेका गोपामान श्रेष्ठ एमालेकी उम्मेदवार पदमा अर्यालसँग पराजित भएका थिए ।

स्याङजा २ मा टिकटको दाबी गर्दै आएका खुमा अर्याललाई कांग्रेसले टिकट नदिएर गोपालमान श्रेष्ठलाई दिएको थियो । श्रेष्ठले टिकट पाएपछि खुमा अर्याल समूह उनलाई हराउन ज्यान फालेर लागेको आरोप लगाएको छ ।

स्याङजा कांग्रेसको बैठकमा गएपछि खुमा अर्यालका भाई भेषराज अर्याललाई अन्तरघात गरेको आरोपमा कालो मोसो लगाउनुपर्नेसम्मको माग उठेको थियो । तर, बैठकले भेषराजलाई अबिर लगाएर सम्मान गरेको एक नेताले बताए ।

उता, खुमा अर्याल समूहले पनि उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निर्देशनमा आफूहरूमथि आक्रमण गरिएको आरोप लगाउँदै आएको छ । अर्याल समूहले उपप्रधानमन्त्री श्रेष्ठले ज्यान मार्न खोजेको भन्दै प्रहरीमा मुद्दा दायर गर्न खोजेको थियो । केही स्थानीय नेताहरूको पहलमा मुद्दा दर्ता गर्न दिइएको थिएन ।

Published : Thursday, 2017 December 28, 11:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया