एमालेको आरोप देउवाद्वारा सिधै खारेज, आयो जवाफ

भरतपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण प्रक्रिया पूरा गरी सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन् ।

चितवनको सौराहामा हात्ती महोत्सवको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्रीले  संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाले अब नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताए ।

एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले सत्ता छाड्न नचाहेको भनेर अभिव्यक्ति दिइरहेका बेला देउवाले चितवन पुगेर सत्तामोहको आरोपहरू खारेज गरिदिएका हुन् । उनले कांग्रेस सत्ताको खेलमा नरहेको बताएका छन् ।

निर्वाचनले पार्टीलाई घाटा हुन्छ भन्ने जान्दाजान्दै पनि देशलाई निकास दिन कांंग्रेसको नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गरी संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न सफल भएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले भने, ‘यो निर्वाचन निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा सकारात्मक सन्देश प्रवाह भएको छ ।’

नेपालको राजनीतिक इतिहासमा भएका महत्वपूर्ण ऐतिहासिक उपलब्धि कांग्रेसले आफ्नै नेतृत्वमा सम्पन्न गरेको भन्दै प्रधानमन्त्रीले त्यही उपलब्धिमध्येको अहिलेको संक्रमणको अन्त्य पनि भएको उल्लेख गरे ।

लोकतन्त्रबाटै विकास हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त रहेको भन्दै उनले संविधानलाई संस्थागत गरी अघि बढ्नुपर्ने अबको आवश्यकता रहेको बताए ।

Published : Tuesday, 2017 December 26, 7:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया