लालबाबु पण्डित पनि ‘प्रचण्ड’को विपक्षमा, माओवादीलाई तनाव

काठमाडौं । एमालेका नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओली नै हुने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पण्डितले सरकारको नेतृत्व आलोपालो नहुने जिकिर गरे । उनले भने, ‘आलोपालो हुँदैन, पूरा पाँच वर्ष केपी ओली नै सरकार चलाउनुहुन्छ, यसमा कुनै दुई मत छैन, प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष दुवै ओली बन्नपनि सक्नुहुन्छ, अहिले हामी छलफलमा जुटेका छौं ।’

पण्डितले पार्टीको अध्यक्षमा ओली बाहेक गठबन्धनमा आबद्ध शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल र माधव नेपाल पनि बन्न सक्ने संभावना भएको बताए । तर, अध्यक्ष पनि र प्रधानमन्त्री पनि ओली नै बन्ने उनको विश्वास थियो ।

नेता पण्डितले गठबन्धनमा रहेका नेताहरूलाई उचित किसिमले व्यवस्थापन गर्नेबारे पनि अहिले छलफल चलिरहेको सुनाए । उनले भने, ‘हिजो चुनावमा तालमेल गर्दा पनि एउटा मापदण्ड बनाएर हामी भाग लिएका थियौं, अब एकताको लागि पनि विशेष मापदण्ड बनाएर छलफलमा जुट्छौं, यति हो कि सबै नेताहरूको उचित व्यवस्थापन हुन्छ, यसमा कुनै द्विविधा र दुई मत छैन ।’

उनले सरकार गठनपछि मात्रै पार्टी एकता हुने जनाए । उनले भने, ‘पार्टी एकता हुनेमा कुनै शंका छैन, पहिले सरकार गठन हुन्छ, अनि मात्रै हामी पार्टी एकतामा जुट्छौं ।’

नेता पण्डितले वाम गठबन्धनलाई जनताले विश्वास गरेर मत दिएको भन्दै जनताको जीवनस्तर उकास्ने र मुलुकलाई समृद्ध बनाउने गरि अबको सरकारले काम गर्ने विश्वास दिलाए । उनले दिन गनेर सरकार गठन हुने र दिन गनेरै सरकार ढल्ने दिन अब गएको समेत दाबी गरे ।

Published : Tuesday, 2017 December 26, 6:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया