काठमाडौंमा मेयर–उपमेयरबीच ‘फाइट’, उपमेयरलाई गगनले दिए साथ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच रानीपोखरी पुनःनिर्माणको विषयलाई लिएर भएको विवाद छताछुल्ल भएको छ ।

रानीपोखरी पुनः निर्माणलाई लिएर एमालेबाट निर्वाचित शाक्य र कांग्रेसबाट निर्वाचित खड्गी एकअर्काविरुद्ध सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । मेयर शाक्यले पुनः निर्माण नरोकिने बताइरहँदा उपमेयर खड्गीले भने जसरी पनि पुनःनिर्माण रोकेरै छाड्ने बताइन् ।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा खड्गीले ऐतिहासिक र पुरातात्विक संरचना मासिने गरी हुन लागेको पुनःनिर्माण रोक्ने घोषणा गरिन् ।

शाक्यले भने स्थानीय निकाय निर्वाचनअघि नै पुनःनिर्माणको काम सुरु भएको र उक्त काम पुरातत्व विभागको मापदण्डअनुसारै रहेकाले काम नरोकिने स्पष्ट गरे ।

रानीपोखरी सबैको साझा र ऐतिहासिक स्थल भएको भन्दै उनले पुनःनिर्माणमा अनावश्यक बखेडा नझिक्न आग्रह गरे । २०७२ वैशाख १२ मा गएको महाभूकम्पका कारण रानीपोखरीको मध्ये भागमा रहेको बालगोपालेश्वर मन्दिर भत्किएपछि पुनःनिर्माण गर्न लागिएको हो ।

खड्गीले मेयर शाक्यले आफूसँग रानैपाखेृरी पुननिर्माणका विषयमा कुनै छलफल नगरेको भन्दै असन्तुष्टि जनाइन् । ‘सम्पदा बिग्रने गरी पुनः निर्माण हुन लागेको थाहा पाएपछि मैले मेयर साबलाई सोधेकी थिएँ’, खड्गीले भनिन्, ‘उहाँले पछि कुरा गरौंला भनेर टार्नुभयो, अब म काम रोक्न लाग्छु ।’

कार्यक्रममा काठमाडौं–४ का सांसद गगन थापा र काठमाडौं–६ का सांसद भीमसेनदास प्रधानले पनि उपमेयर खड्कीको अडानको समर्थन गरे ।

थापाले पुरातत्वविदहरुले रानीपोखरीको पुरानो शैली कायमै राखेर पुनःनिर्माण गरिनुपर्छ भन्ने सुझावलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाए । उनले पुरानो स्वरुपमा परिर्वतन नगरी पुनःनिर्माण हुनुपर्नेमा जोड दिए ।

प्रधानले महानगरका मेयरले जबर्जस्ती पेलेर पुनःनिर्माण अघि बढाएकामा आपत्ति जनाउँदै जसरी पनि काम रोक्ने चेतावनी दिए । उनले मेयरले आफूहरूका कुरा नसुने आन्दोलनमै उत्रने चेतावनी दिए ।

Published : Monday, 2017 December 25, 9:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया