नहुने भयो तत्काल पार्टी एकीकरण, ‘ब्याक’ भए ओली

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति छ भनेर दिएको अभिव्यक्तिसँग बाम गठबन्धनमा दरारहरू उत्पन्न भएको संकेत देखिएका छन् ।

चितवन पुगेर प्रचण्डले प्रधानमन्त्री पदमा भएको भागबण्डाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने विषय तत्कालका लागि केही पछाडि धकेलिएको छ ।

शुक्रबार ललितपुरस्थित उपाध्यक्ष बामदेव गौतमको निवासमा बसेको एमालेको स्थायी समिति बैठकमा अध्यक्ष केपी ओलीले पार्टी एकीकरण गर्न केही समय लाग्छ भनेर दिएको अभिव्यक्तिले पनि बाम गठबन्धनको एकता प्रयास कालान्तरमा गएर अबरुद्ध हुने हो कि भनेर संकेत गरेको छ ।

ओली र प्रचण्डले पाँच वर्षका लागि स्थायी सरकार भनेर जनतासँग मत मागेका थिए । निर्वाचनपछि पार्टी एकीकरण गर्ने आश्वासन र प्रतिवद्धता जनाएका थिए । तर, आहिले आएर ओली र प्रचण्डले सो प्रतिवद्धता विपरित प्रधानमन्त्री पद आलोपालो गर्ने सहमति गरेर मतदाताहरूलाई ठूलो झट्का दिएका छन् ।

उता, ओलीको कठोर नीति र अभिव्यक्तिबाट प्रचण्ड पनि सशंकित भएको एक नताले बताए । ओलीले नेपाली कांग्रेसलाई पेलेर लैजाने नीति बनाएकोमा प्रचण्ड खुसी छैनन् । राष्ट्रिय सभा निर्वाचनको अध्यादेशलाई ओलीले नै अड्काउन राष्ट्रपतिलाई दवाव दिएको माओवादीका एक नेताले बताए । उनले भने, ‘केपी ओलीजीमा घमण्ड पलाएको भान हामीले पाएका छौँ । प्रचण्डजी कांग्रेसलाई पनि मिलाएर जानुपर्छ भन्नु हुन्छ । तर, एमाले र केपी ओलीहरू कांग्रेसलाई पेलेर जाने मनस्थितिमा हुनुहुन्छ ।’

राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा प्रचण्ड एमालेको पक्षमा देखिए पनि सो विषयलाई मध्यमार्गी बाटोबाट समाधान गरेर कांग्रेसलाई पनि साथ लिएर जाने पक्षमा छन् । यस्तो अवस्थामा प्रचण्ड र ओलीले राष्ट्रिय राजनीतिलाई मिलाएर लैजानुभन्दा अर्को विकल्प रहँदैन ।

उता, एमालेले राष्ट्रियसभाको चुनावमा एकल संक्रमणीय प्रणाली अस्वीकार्य हुने आफ्नो अडानलाई कायमै राखेको छ । उसले माओवादी पार्टीसँग एकता प्रक्रिया पूरा गर्न केही समय लाग्ने ठहर गरेको छ ।

एमालेले छिटोभन्दा छिटो नयाँ सरकार गठनको वातावरण बनाउन निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक शुक्रबार बसेको स्थायी कमिटी बैठकमा चुनावी परिणामको समीक्षा गर्नुका साथै सामयिक राजनीतिक परिस्थितिबारे छलफल र विश्लेषण भएको थियो ।

राष्ट्रियसभाको गठन नेपालको संविधानको व्यवस्था र यससम्बन्धी विधेयक निर्माणका क्रममा राजनीतिक दलहरुबीच भएको पूर्वसमझदारीअनुरुप नै हुनुपर्ने ठहर बैठकले गरेको एमाले सचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

बैठकले सरकार गठनको तयारी र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिँदै यसलाई यथाशीघ्र छिटो निष्कर्षमा पुर्‍याउने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितिका बारेमा नेताहरुलाई जानकारी गराएका थिए । नयाँ सरकार गठनमा नेपाली कांग्रेसले नियतवश अवरोध सिर्जना गरिरहेको ओलीले बताएका थिए ।

पार्टी एकताको निर्णय भइसके पनि यसको समग्र प्रक्रियाले पूर्णता पाउन केही समय लाग्ने ओलीले बताएका थिए । पार्टीका नीति सिद्धान्त र बिचारहरुमा एकरुपता कायम गर्ने र नेता कार्यकर्ताको व्यवस्थापन गर्ने प्रक्रियाले समय लिने ओलीले बताएका थिए ।

Published : Saturday, 2017 December 23, 9:30 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया