ओलीको अहँकार पाँच दलभित्र पनि देखियो, देउवासँग चर्काचर्की

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको प्रमुख पाँच पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठक बिना निश्कर्ष सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषयमा छलफल भएपनि कुनै सहमति नभएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेस विभाजित बनिरहेका बेला प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रिय दलहरूको संयुक्त बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्री देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच केही बेर चर्काचर्की समेत भएको एक नेताले बताए ।

बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले तत्काल अध्यादेश स्वीकृत गर्नुपर्ने धारणा राखेका थिए । तर, एमाले अध्यक्ष केपी ओलीले देउवाको भनाईमाथि प्रतिकार गर्दै आफूहरू सो अध्यादेश नमान्ने चेतावनी दिएका थिए ।

ओलीको भनाई उद्धृत गर्दै कांग्रेसका नेता निधिले भने, ‘प्रधानमन्त्रीले आफू सरकार छोड्न तयार रहेको धारणा राख्नुभयो । देउवाजीले राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्नुपर्ने बताउनुभयो ।’

बैठकमा सहभागी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताहरूले पनि राष्ट्रपतिले तत्काल अध्यादेश स्वीकृत गर्नुपर्ने धारणा राखेको निधिले जनाए ।

निधिका अनुसार राजपाका अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि एकल संक्रमणीय व्यवस्थाको पक्षमा रहेका छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने मध्यमार्गी बाटो अपनाउँदै सम्वादलाई जारी राख्नुपर्ने धारणा राखेका थिए ।

Published : Friday, 2017 December 22, 1:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया