एमालेका वडाध्यक्षले कर्मचारीलाई मुक्का हाने

पोखरा । प्रमुख अतिथि नबनाएको झोँकमा पोखरा महानगरपालिका –१३ का वडाध्यक्ष दर्शन लामाले महानगर पशु सेवा शाखाका प्रमुख ठगेन्द्रप्रसाद अर्याललाई कुटपिट गरेको खुलासा भएको छ ।

एमाले निकट युवा संघका केन्द्रीय नेता वडाध्यक्षमा विजयी हुनुअघि स्थानीय गुण्डाका रुपमा परिचित व्यक्ति हुन् । अर्यालले कांग्रेस नगर सभापति बजिरमान श्रेष्ठलाई पराजित गर्दै वडाध्यक्षमा विजयी भएका थिए ।

कुटाइ खाने पशु चिकित्सक अर्याल कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघ आबद्ध कर्मचारी हुन् ।

वित्तीय समानीकरण अन्तर्गत महानगरमा आएको बजेट अन्यत्रै खर्च गरिएपछि आर्थिक वर्ष सुरु भएको ५ महिनापछि मात्र महानगरले पशु विकासको कार्याक्रम ल्याएको थियो ।

अघिल्लो वर्ष कास्कीमा पशु विकासमा ७ करोड रुपैयाँ खर्च भएको भए पनि यो वर्ष भने कास्कीको धेरै ठाउँ ओगटेको महानगरमा पशु विकासका लागि १ करोड ४० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

पोखरा महानगरपालिका १४ स्थित आर्बा सेवा केन्द्रस्तरीय व्यवसायिक किसानको कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले अर्याललाई कुटेका हुन् । महानगर शाखा प्रमुख अर्यालले वडाध्यक्ष लामाले आफूलाई गाली गलौज र कुटपिट गरेको बताए ।

आर्बा युवा क्लबको भवनमा कार्यक्रमको लागि १२ बजे पुगेका वडाध्यक्ष लामाले दादागिरि शैलीमा बाहिर बोलाएर गल्लीमा लगेर कुटेको उनले जनाए ।

वडाभित्र कार्यक्रम गर्दा आफूलाई सोध्न निर्देशन गरेको, शाखा अधिकृत अर्याललाई प्रमुख अतिथि बनाएर आफूलाई औपचारिकताको लागि बोलाएपछि विरोध गरेको लामाले स्वीकारे ।

आर्बा सेवा केन्द्रका प्रमुख कमला खत्रीले सेवा केन्द्रस्तरीय कार्यक्रममा महानगरको वडा नम्बर ११, १२ र १३ का किसानलाई बोलाएको कार्यक्रम स्थगित भएको बताइन् । उनले १५ जना किसान सहभागी भएपछि वडाध्यक्ष लामालाई खबर गरेको जनाइन् ।

(कालो चस्मा लगाएका एमालेका वडाध्यक्ष दर्शन लामा)

Published : Friday, 2017 December 22, 10:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया