पृथ्वीनारायण शाहलाई सम्झिए माओवादी अध्यक्ष दाहालले

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमार्फत् जनताले दिएको जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल देशभक्त गणतान्त्रिक मञ्चले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले भने, ‘जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी बोकाएका छन् । हाम्रो दायित्व देशमा स्थीरता र विकासको सपना साकार पार्नु हो ।’

उनले भने, ‘जनमतबाट अझै जिम्मेवार बन्नुपर्छ, विनम्र बन्नुपर्छ । जनमतको सम्मान गरेर अघि बढ्नुपर्छ ।’ उनले वामपन्थी गठबन्धनलाई जनताले अनुमोदन गरेको बताए ।

‘संविधान र कानुनको फरक ब्याख्या देखिएको छ, यसको जनमत पनि जनमतअनुसार नै हुन्छ, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको प्रावधानबाहेक अरु कुरा जनमतका आधारमा परिमार्जन गर्न सकिन्छ’, दाहालले भने ।

उनले पृथ्वीनारायण शाहपछि आफ्नो नेतृत्वमा नेपालमा ठूलो आन्दोलन भएको बताए ।

‘एकै व्यक्तिलाई यति धेरै अवसर निकै कमलाई मात्र प्राप्त हुन्छ, मलाई त्यस्तो अवसर प्राप्त भयो, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणी छु’, माओवादीका अध्यक्ष दाहालले भने, ‘पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा ठूलो आन्दोलन र बलिदान मेरै नेतृत्वमा भयो, त्यसले गणतन्त्र संघीयता र नयाँ संविधान दियो, मेरै नेतृत्वमा शान्ति सम्झौता भयो, युद्द र शान्ति दुबैको नेतृत्व गर्ने अवसर जनताले मलाई दिए। संविधान निर्माण र कार्यान्वयनमा पनि मैले नेतृत्वदायी भूमिका खेले ।’

उनले भने, ‘अब नेपालको स्थीरता, विकास र समृद्धिको नेतृत्व पनि मेरै काँधमा आएको छ । त्यो जिम्मेवारी पनि म पूरा गर्छु ।’

Published : Thursday, 2017 December 21, 5:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया