सिलवालले विरोधीहरूसंग संसदबाट बदला लिने, घोडाबारे दिए नयाँ प्रतिक्रिया

काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी एवम् नेकपा (एमाले)का नवनिर्वाचित सांसद नवराज सिलवालले आफूलाई कार्यसम्पादन मूल्यांकनमा कारबाही भए त्यस विषयमा संसदीय समितिमा छानविन गरेर ठेगान लगाउने धम्की दिएका छन् ।

सामाजिक सञ्जाल युट्युबमा राखिएको भिडियो अन्तर्वार्तामा सिलवालले सर्वोच्च अदालतले किर्ते काण्डमा छानविन गर्न दिएको आदेशबारे यस्तो प्रतिक्रिया दिएका हुन् । सिलवालले आफूलाई आईजीपी बन्न नदिएको र किर्ते काण्डमा कारबाही हुन लागेको विषयमा संसदीय समितिमा छानविन गर्ने भनेर न्यायपालिका र अन्य सरोकारवाला निकायहरूलाई कारबाहीको धम्की दिएका छन् ।

‘कार्यसम्पादन मूल्यांकनको गोप्य डकुमेन्ट कसरी लिक भयो ? मैले पनि बुझेको छैन । अनलाइनहरूमा आएको कुरालाई मेरो वकिलहरूले प्रमाणका रुपमा अदालतमा पेस गरेका हुन्’, उनले भनेका छन्, ‘संसदीय समितिले यसलाई अनुसन्धान गर्छ । दोषीलाई कारबाही गर्नुपर्छ ।’ सिलवालले आफूलाई शेरबहादुर देउवाले आईजीपी बन्न नदिएको आरोप पनि लगाएका छन् ।

नेपाल प्रहरीको आईजीपी बढुवा प्रकरणमा तत्कालीन डिआईजी सिलवालले कार्यसम्पादन मूल्यांकनलाई किर्ते गरेर प्रमाण स्वरुप सर्वोच्च अदालतमा पेस गरेका थिए । सो विषयमा सर्वोच्चको पूर्ण बेञ्चले फैसला गर्दै किर्ते गरेको विषयमा अनुसन्धान गरेर सिलवाललाई कारबाही गर्न सरोकारवाला निकायलाईआदेश दिइसकेको छ ।

सो अन्तर्वार्तामा ललितपुर क्षेत्र नं. १ को प्रतिनिधि सभा निर्वाचनमा कति खर्च भयो भनेर सोधिएको प्रश्नमा सिलवालले ५ देखि ७ लाख मात्रै खर्च भएको दाबी गरेका छन् । ‘पाँचदेखि सात लाख जति निर्वाचनमा खर्च भएको छ । मेरा साथीहरूले चना र चिउरा खाएर प्रचार प्रसार गरेका छन्’, सिलवालले भनेका छन् ।

मतदाताहरूलाई धन्यावाद दिन गएका बेला घोडामा दुलाह जस्तो भएर बसेका विषयमा सोधिएको प्रश्नको जवाफमा सिलवालले भनेका छन्, ‘मे घोडा चढ्न सोखिन व्यक्ति हुँ । त्यसको सदस्य पनि छु । म घोडा चढेको पर्यटनको विकासका लागि हो । धापाखेलमा घोडा चढ्ने व्यवसाय पर्यटनका लागि अगाडि बढाउन चाहन्छु ।’ सिलवालले भनेका छन्, ‘म घोडा चढेको विषयलाई मेरा विरोधीहरू विशेष गरेर नेपाली कांग्रेसका समर्थकहरूले मलाई सिध्याउन आलोचना गरेका हुन् ।’

एमालेका नवनिर्वाचित सांसद सिलवाल मतदाताहरूलाई धन्यावाद दिन जाने बेला घोडामा चडेर दुबोको माला तथा टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा आएपछि ठूलो आलोचना भएको थियो ।

Published : Wednesday, 2017 December 20, 12:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया