ओलीबारे माओवादीभित्र ‘बबण्डर’, नेताहरू एमालेसँग सशंकित

काठमाडौं । माओवादी केन्द्रका नेताहरूले सरकार गठन र पार्टी एकताको विषयलाई अलग अलग रुपमा हुने नहुने बताएका छन् । उनीहरूले पार्टी एकीकरण हुने भएपछि सरकार र पार्टी एकतालाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

कोटेश्वरस्थित पार्टी मुख्यालयमा सोमबार बसेको केन्द्रीय कार्यालय बैठकमा एमालेसँगको पार्टी एकीकरणका विषयमा नेताहरूले चासो र चिन्ता जनाएका थिए । धारणा राख्ने अधिकांश नेताहरूले पार्टी एकीकरणको पक्षमा सुझाव दिए पनि पद विभाजनमा एमालेका केही नेताहरूको अभिव्यक्तिप्रति आशंका जनाएका थिए ।

बैठकमा बोल्ने नेताहरूले पार्टी एकता हुँदा पदको सम्मानजनक बाँडबाँडमा जोड दिएको एक नेताले बताए । ‘पार्टी एकीकरण हुने हो भने पद र जिम्मेवार बाँडफाँडमा पनि ध्यान दिनुपर्छ’, नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, ‘पार्टी एकीकरणसँगै सरकार गठनको विषयलाई पनि सँगसँगै लैजानुपर्छ । पार्टी एकीकरण गर्ने हो भने छिटो गर्नुपर्छ ।’

बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत एकताको पक्षमा रहेको भन्दै सम्बोधन गरेका थिए ।

माओवादीका अधिकांश नेताहरूले कुनै पनि हालतमा पार्टी एकीकरणका बेला तीन महत्वपूर्ण पद एमालेका अध्यक्ष केपी ओलीलाई दिन नहुनेमा ‘प्रचण्ड’लाई सुझाव दिएका थिए । ‘नेतृत्वको विषयमा प्रष्ट हुनुपर्छ । एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको नेता, प्रधानमन्त्री र अध्यक्ष पद लिने जुन कुरा बाहिर आएको छ त्यो कुनै पनि हालतमा स्वीकार हुन्दैन । यसमा नेतृत्व स्पष्ट हुनु जरुरी छ’, बैठकमा दिइएको सुझाव उल्लेख गर्दै ती नेताले भने ।

बैठकमा उर्मिला अर्याल, मातृका यादव र देव गुरुङले अन्तर्घातका कारण विभिन्न निर्वाचन क्षेत्रमा पार्टी पराजित हुन पुगेको रिपोर्टिङ गरेका थिए । उनीहरूले छानबिन समिति बनाएर अन्तर्घात गर्नेलाई कारबाही गर्न सुझाव दिएका छन् ।

बैठकमा पर्शुराम तामाङले बिचार, संगठन र नेतृत्वको विषयमा माओवादी केन्द्र स्पष्ट हुनुपर्ने बताएका थिए । उनले सरकार बनाइहाल्ने तर, पार्टी एकताचाहिँ पछि गरिए त्यो गम्भीर गल्ती हुने सुझाव राखेका थिए ।

Published : Monday, 2017 December 18, 7:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया