भारतप्रति ओलीको ‘यूटर्न’, प्रचण्डले दिए साथ

– सुना गुरुङ

काठमाडौं । भारतको चर्को विरोध गरेर प्रदेश र प्रतिनिधि सभामा बहुमत पाएको बाम गठबन्धनले आफ्नो वैदेशिक नीतिलाई खुकुलो बनाउने संकेत गरेको छ ।

गठबन्धनका शीष नेताद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार काठमाडौंमा आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर भारतप्रति आफूहरूको धारणा सार्वजनिक गरेका हुन् । ओली–दाहालले चीनसँग भन्दा पनि भारतसँग मिलेर जाने संकेत गरेका हुन् ।

उनीहरूले संयुक्त रुपमा हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा पनि भारतको नाम नलिएर सहकार्य गर्ने जनाइएको छ । ‘नेपालको संविधानद्वारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्दै हामी सबै मित्र राष्ट्र, विशेषतः छिमेकी देशहरू तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरूसंग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध छौं’, विज्ञप्तिमा भनिएको छ ।

भारतको विरोध गरेकै कारण राष्ट्रवादी चरित्र बनाएका ओलीले नयाँ सरकारको नेतृत्व गर्ने बेला दिएको यो अभिव्यक्तिले विभिन्न प्रश्न उब्जाइ दिएको छ । भारतको साथ र समर्थन आवश्यक थियो भने किन जनतालाई राष्ट्रवादको सपना देखाएको भनेर टिकाटिप्पणी हुन थालेको छ ।

पत्रकार सम्मेलन बाम गठबन्धनको नयाँ सरकार बन्दै गरेका बेला भारतलाई रिझाउने गरेर आयोजना गरेको हुन सक्ने पत्रकारहरूले एकआपसमा टिकाटिप्पणी गरेका थिए । ओलीले भारतप्रति देखाएको नरम भाव र शब्दहरूले त्यसकै संकेत गरेको थियो ।

खचाखच भरिएको पत्रकार सम्मेलनमा ओली–दाहालले कुनै ठूलो घोषणा गर्छन् कि भनेर धेरैले आश गरेका थिए । तर, ओलीले धेरै बोलेको त्यो पत्रकार सम्मेलनमा सरकारको कामकारबाही, प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगलाई गाली गर्नुभन्दा केही भएको थिएन ।

ओलीले राष्ट्रय सभाको अध्यादेश रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीले राम्रो काम गरेको भनेर सह्राना गरे । देउवाले आफूलाई प्रधानमन्त्री बन्नबाट रोकेको भनेर तथानाम गलाी गर्न पनि भ्याए ।

पत्रकार सम्मेलनमा एमाले र माओवादी केन्द्रबीच छिट्टै पार्टी एकीकरण हुने जानकारी दिइयो । तर, कहिलेसम्म एकीकरण हुने हो त्यो भनिएन । नयाँ प्रधानमन्त्रीबारे पनि पत्रकार सम्मेलनमा जानकारी दिइएन । तर, ओलीको बडिल्याग्वेजले उनी नै नयाँ प्रधानमन्त्री हुन् भन्ने देखाएको थियो ।

कम बोलेका प्रचण्डले संयम भएर कुटनीतिक रुपमा पत्रकारहरूको जवाफ दिएका थिए । हुन त ओली पनि अन्य दिनको तुलनामा केही नरम देखिए पनि राष्ट्रपति भण्डारीको बचाउमा अलिक कडा भएर धारणा राखेका थिए ।

Published : Sunday, 2017 December 17, 7:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया