बढ्यो मार्बल–टायलको व्यापार

काठमाडौं । घर–अफिसलाई चम्किलो र आकर्षक बनाउने माध्यमका रूपमा मार्बल, सेरामिक टायल र ग्रेनाइटको प्रयोग फस्टाउन थालेको छ ।

घरको भान्सादेखि बाथरुम, भुइँदेखि भित्तासम्म अनिवार्य बन्न पुगेका यी उत्पादन बढ्दो सहरीकरण तथा मानिसको खरिद गर्न सक्ने क्षमतामा वृद्धि भएसँगै माग पनि बढेको व्यवसायीहरू बताउँछन् ।

‘अहिले आवासीय भवनसँगै ठूला होटेल, हस्पिटल र हाउजिङमा पनि मार्बल, टायल र ग्रेनाइटको ठूलो माग छ,’ नेपाल मार्बल एन्ड स्यानिटेसनका सञ्चालक सशान्त कनोडिया भन्छन्, ‘भूकम्पपछि माग अझ उच्च गतिमा बढिरहेको छ ।’

उच्च माग रहे पनि यी प्रोडक्ट नेपालमा भने उत्पादन हुँदैनन् । व्यवसायीहरूका अनुसार मार्बल, सेरामिक टायल र ग्रेनाइटको अधिकांश हिस्सा भारतीय उत्पादनले ओगटेको छ ।

त्यसबाहेक चीन, स्पेन, इटालीलगायत मुलुकबाट पनि ब्रान्डेड उत्पादन आयात हुने गरेको छ । व्यवसायीहरूका अनुसार घर–भवन निर्माणपछि आन्तरिक सजावटमा अनिवार्य बनेका यी उत्पादनको व्यापार हरेक वर्ष ४० प्रतिशत हाराहारीले वृद्धि भइरहेको छ ।

टायलको प्रयोगले भान्छादेखि बाथरुमसम्म सफा र आकर्षक राख्न सकिन्छ । घरमा प्रयोग भएका फर्निचर तथा काठबाट निर्मित विभिन्न सामानलाई पानी र ओसिलोपनबाट जोगाउन पनि मार्बल, टायलले ठूलो भूमिका खेल्छ ।

व्यवसायीहरूका अनुसार मार्बल, सेरामिक टायल र ग्रेनाइटको व्यवसायबाट हजारौँ मानिसले रोजगारी प्राप्त गरेका छन् । देशभर १ हजारभन्दा बढी व्यवसायीले यसको व्यापार प्रारम्भ गरिसकेका छन् ।

नेपाल मार्बल व्यापार संघका अनुसार मार्बल, टायल र ग्रेनाइटका लागि काठमाडौं मुख्य बजार हो । त्यसबाहेक तीव्र गतिमा सहरीकरण भइरहेका तराईका जिल्ला र पहाडी सदरमुकाममा पनि यी सामग्रीको बिक्री वितरण बढ्दै छ ।

Published : Sunday, 2017 December 17, 8:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया