यी बालक, जसले कमाउछन् करोडौं

लसएञ्जलस । कल्पना गर्नुहोस्, ६ वर्षको बच्चाले व्यवसायिक काम गर्न सक्छ ? कमाउन सक्छ ? कमाइ हाले पनि कति रूपैयाँ कमाउला ?

यी सबको जवाफ दिएका छन् रेयान नामका बालकले जो मात्रै ६ वर्षका छन् । उनी यूट्युबका ‘स्टार’ हुन् जो हरेक हप्ता यूट्युबमा खेलौनाको समीक्षा गर्छन् । उनको च्यानल हिट छ र यसबापत् उनका अभिभावकले मोटो रकम थाप्दै आएका फोर्ब्स पत्रिकाले जनाएको छ । रेयानले गत वर्ष १ करोड १० लाख रूपैयाँभन्दा बढी कमाइ गरेका थिए ।

रेयानको ‘रेयान ट्योज रिभ्यु’ च्यानलका भिडियो करोडौंपटक हेरिएका छन् । यो च्यानलमार्फत् उनले आफ्ना दर्शकलाई खेलौनाको ‘छुट्टै संसार’ लैजाने टिप्पणी विश्लेषकले गरेका छन् । सन् २०१५ बाट सुरु भएको उनको च्यानलका भिडियो हालसम्म १६ अर्बभन्दा बढी पटक हेरिएका छन् ।

फोर्ब्सले उनलाई सन् २०१७ मा संसारमै धेरै आम्दानी गर्ने यूट्युब स्टारको सूचीमा राखेको छ ।

कम उमेरमा सबभन्दा धेरै कमाउनेमा रेयानका बारेमा धेरै जानकारी भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको थर के हो र कहाँ बस्छन् भन्ने पनि आधिकारिक जानकारी छैन । उनी अमेरिकाका हुन् भन्ने चाहिँ पुष्टि भएको बताइएको छ ।

केही दिनअघि रेयानकी आमाले अमेरिकी अखबार वासिङटनपोस्टलाई एक अन्तर्वार्ता दिएकी थिइन् । त्यसमा उनले रेयानका बारेमा थोरै कुरा बताइन् । ‘रेयान सानै उमेरदेखि खेलौनाको सौखिन थियो’, उनले भनिन्, ‘ऊ टिभी र यूट्युबमा आउने रिभ्यु हेर्थ्यो । तीन वर्ष छदैंदेखि उसको यसमा लगाव छ ।’

रेयानकी आमाले पनि आफ्नो परिचय दिन मानिनन् । ‘उसले मलाई सानैदेखि गनगन गर्थ्यो’, उनले भनिन्, ‘म अरू बच्चा जस्तो यूट्युबमा किन देखिन्नँ भन्थ्यो । त्यसपछि हामीले उसलाई यो सम्भव छ बाबु भनेर सम्झायौं र खेलौना किन्न गयौं । पहिलोपटक हामीले उसलाई एक रेल किनिदियौं र यहीँबाट यो सब सुरु भयो ।’

रेयानको एउटै भिडियो ८० करोडभन्दा बढीले हेरेका छन् । मार्च २०१५ मा सुरु भएको उनको च्यानल सन् २०१६ जनवरीसम्म आइपुग्दा १० लाखभन्दा बढीले ‘सबस्क्राइब’ गरिसकेका थिए । हाल एक करोडभन्दा बढी सबस्क्राइबर छन् ।

Published : Saturday, 2017 December 16, 6:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया