एमालेबाट किन भारतकै लाइनमा कुरा आयो ? कांग्रेसको साथ खोज्दै ‘प्रचण्ड’

काठमाडौं । एमालेका महासचिव ईश्वर पोख्रेलले केपी ओली नै पार्टी अध्यक्ष, संसदीयको नेता र प्रधानमन्त्री हुने भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि बाम गठबन्धनभित्र ‘तरंग’ पैदा भएको छ ।

एमालेभित्र गुटको राजनीति चलाउँदै आएका महासचिव पोख्रेलले एकाएक किन एकीकरण विरुद्ध अभिव्यक्ति दिए भनेर सोच्न बाध्य बनाइदिएको छ । कार्यशैलीका कारण एमालेभित्र सधै विवादित व्यक्तिको छवि बनाएका पोख्रेलले माओवादीका नेताहरूबाट आफूलाई राजनीतिक रुपमा खतरा देखेर वा भारत र ओलीकै निर्देशनमा बाम गठबन्धनविरुद्ध अभिव्यक्ति दिन थालेका हुन् कि भनेर आशंका हुन थालेको छ ।

एमाले र माओवादीका केही नेताहरूले महासचिव पोख्रेलको पछिल्लो अभिव्यक्तिलाई भारतसँग जोडेर पनि विश्लेषण गर्न थालेका छन् । सधै बाम गठबन्धनको विरोध गर्दै आएको भारतसँग बोली मिल्ने गरेर पोख्रेलले किन अभिव्यक्ति दिए सबैले आश्चर्य मानेका छन् ।

समाजिक सञ्जालमा एमाले माओवादी केन्द्रको एकताबारे निकै टिप्पणी भइरहेको छ । खासगरी केपी ओलीले माओवादी युद्ध सैद्धान्तिक भुल थियो र ईश्वर पोखरेलले पार्टी अध्यक्ष, प्रधानमन्त्री तथा संसदीय दलको नेता एउटै व्यक्ति हुन्छ र सरकार गठन मत परिणामको आधारमा हुने भने पछि प्रचण्डका अनुयायीहरूलाई ज्वरो आएको टिप्पणी हुन थालेको छ ।

संसदीय समीकरण देखाउन थालेका छन् र एमाले बाहेक मिल्दा बहुमत पुग्ने संख्या प्रक्षेपण हुन थालेको छ । संसदीय प्रणाली मूलतः अनैतिक भ्रष्टहरुको जमघट हुने थलो हो । एकाध नैतिक मान्छे त्यहाँ पुगिहाले पनि उनीहरूको गणना हुँदैन भन्ने कम्युनिष्ट आलोचकहरू नै बताउँछन् ।

अब प्रचण्डले समीकरण बदले पनि अन्यथा मान्नु पर्दैन । कांग्रेसका नेता प्रदीप गिरीले चुनावको दौरान यदि माओवादी केन्द्रले ३५ देखि ४० स्थान मात्र पायो भने बाम गठबन्धन रहँदैन भनेर घोषणा गरेका थिए ।

सायद कांग्रेस नेता गिरीले बुझेरै भनेका होलान् बाम समीकरणले दिल्लीलाई केहीअसर पर्दैन । प्रसिद्ध पत्रकार आनन्द स्वरुप वर्माले केही दिन अघि केपी ओली सरकार पनि भरतीय ‘अक्ष’ बाहिर नजाने कुरा ताएका थिए । यो पनि साँचो हो भन्नेहरू प्रसस्त छन् ।

अहिले दिल्लीलाई केवल कम्युनिष्ट नाम भएकाले कम्युनिष्ट चीनसँगको सम्वन्धको शंकाले केही झस्काएको मात्र हो । सतहमा देखिएका राजनीतिक परिदृश्यहरू हेर्दा यो बाम गठबन्धनको निर्माण केपी ओलीलाई लिकमा ल्याउन दक्षिणबाटै तारतम्य मिलाएको जस्तो देखिएको भारत नजिक मानिने कम्युनिष्ट नेताहरूले बताउन थालेका छन् ।

‘प्रचण्ड’को टाउको माथि भ्रष्टाचार र मानव अधिकार उल्घंनको तरवार झुण्डिको छ । युद्धका दौरान र सँगसँगै भएको साँठगाँठको एक्पोज हुने खतरा पनि ‘प्रचण्ड’को अगाडि छ । यदि ‘प्रचण्ड’ दिल्लीको लाईन विरुद्ध उभिए भ्रष्टाचार र मानवअधिकार उल्लंघनका मुद्धाहरू अगाडि बड्ने छन् । जसलाई ‘प्रचण्ड’ले थेग्नै सक्ने छैनन् ।

यस्तो अवस्थामा ‘प्रचण्ड’लाई फेरि पनि नेपाली कांग्रेसको साथ खोजेको जस्तो देखिएको छ । तर, कांग्रेसले यसपटक रचनात्मक प्रतिपक्षमा बसेर एमाले र माओवादीलाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ । यसैमा नेपाली कांग्रेसको भविष्य रहन्छ । ओली र प्रचण्डको घमण्ड र अहँतालाई नेपाली जनताले चिन्नुपर्ने बेला यही हो ।

केपी ओली पनि संकटमा छन् । ‘प्रचण्ड’का कुरा नमान्दा सरकार फुत्कने, मान्दा राष्ट्रवादको धोती फुस्कने हो कि भनेर टिप्पणी हुन थालेको छ । यस्तो अवस्थामा कम्युनिष्ट गठब्नधको कन्तविजोग हुने अवस्था देखापर्न थालेको एमाले र माओवादीका नेताहरूले बताउनु थालेका छन् ।

Published : Saturday, 2017 December 16, 5:55 pm

1 प्रतिकृया प्राप्त “एमालेबाट किन भारतकै लाइनमा कुरा आयो ? कांग्रेसको साथ खोज्दै ‘प्रचण्ड’”

  • कुरो ठिकै हो।खोजेकै त्यस्तै छन नेता हरुले ।अन्त्यमा जनताको आँखामा छारी।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया