प्रधानमन्त्रीको सचिवालयबाट आयो राष्ट्रपति र एमालेलाई कडा जवाफ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव एवम् नेपाली कांग्रेसका नेता केशवराज जोशीले राष्ट्रिय सभा निर्वाचनका लागि सरकारले राष्ट्रपति कार्यालय पठाएको अध्यादेश फिर्ता नलिने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै स्वकीय सचिव जोशीले राष्ट्रपतिले सरकारले पठाएको अध्यादेश विधेयक पारित गर्नेभन्दा अर्को विकल्प नरहेको बताए ।

‘सरकारले अध्यादेश फिर्ता लिँदैन । यो अध्यादेश निर्वाचन अगाडि दुई महिना पहिला नै राष्ट्रपति कार्यालय पठाएको हो’, उनले भने, ‘राष्ट्रपतिले राष्ट्रिय सभाको निर्वाचन अध्यादेश जारी गर्न ढिला गरेर असहयोग गर्नुभएको छ । मन्त्रिपरिषदले सर्वसम्मत पास गरेर पठाएको अध्यादेश विधेयक संवैधानिक राष्ट्रपतिले स्वीकृत गर्नुपर्छ । यो बाध्यात्मककारी व्यवस्था छ । एमालेले बुझ्न जरुरी छ ।’

प्रधानमन्त्री देउवाले कहिले राजीनामा दिनुहुन्छ भन्ने प्रश्नको जवाफमा स्वकीय सचिव जोशीले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन गराउन प्रधानमन्त्री बन्नुभएको हो । जनुदिन निर्वाचन सुरु भयो त्यही दिनदेखि उहाँ पदमुक्त हुनुभएको छ । पदमुक्त भएको व्यक्तिले पटक–पटक राजीनामा दिने हो र ? संसद गठन हुनेवित्तिकै नयाँ सरकार बन्छ । देउवा सत्ता लम्बाउन चाहँनु भएको छैन । सत्ता लम्बाउन चाहेको भए निर्वाचन नै सार्ने थिए ।’

उनले भने, ‘निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको अन्तिम नतिजा दिएको छैन । अन्तिम नतिजा दिएर संसद गठन भयो भने नयाँ सरकार स्वतः आउँछ ।’

कामचलाउ भइसकेको सरकारले गरेका राजनीतिक नियुक्तिका विषयमा सोधिएको जिज्ञासामा प्रधानमन्त्री देउवाका स्वकीय सचिव जोशीले भने, ‘केपी ओलीले ०७३ सालमा राजीनामा दिइसकेपछि सिंहदरबार छाड्नु एकदिन अगाडि त्रिभुवन विश्व विद्यालय सेवा आयोगको अध्यक्षमा आफ्ना निकटका व्यक्तिलाई नियुक्त गर्नुभएको थियो । आफूले गरेको नदेख्ने, अर्काको आलोचना गर्न पाइन्छ ?’

कांग्रेसले निर्वाचनमा हारेपछि सभापति देउवाले पदबाट राजीनामा दिने सम्भावना छ कि छैन भनेर सोधिएको जिज्ञासामा जोशीले निर्वाचनमा भएको परिणामको समिक्षा गर्न जरुरी रहेको बताए । ‘देउवाका कारण कांग्रेस हारेको हो ? गगनजी पनि प्रचार समितिमा हुनुहुन्छ । निर्वाचनमा गएपछि हार्ने वा जित्ने कुरा त पहिला नै थाहा हुदैन र ? संविधान कार्यान्वयन गर्न देउवाले निर्वाचन गराएका हुन् । यो विषयलाई ध्यान दिने कि नदिने ?’

Published : Saturday, 2017 December 16, 10:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया