प्रचण्डलाई अध्यक्ष दिने सहमति भएको छैनः एमाले

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर ठूलो बनेको दल नेकपा (एमाले)ले प्रधानमन्त्रीको औपचारिक निर्णय केन्द्रीय कमिटी र स्थायी समितिबाट गर्ने भएको छ ।

छिट्टै बस्ने स्थायी समिति र केन्द्रीय कमिटीबाट नयाँ प्रधानमन्त्रीको निर्णय गरिने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले एमालेबाट को प्रधानमन्त्री बन्ने भन्ने निर्णय औपचारिक रुपमा नभइसकेको बताए ।

एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारिएको अवस्थामा औपचारिक निर्णय आवश्यक छ र ? भन्ने प्रश्नको जिज्ञासामा वरिष्ठ नेता खनालले भने, ‘प्रधानमन्त्रीका उम्मेदवार एमालेभित्र एक दर्जन छन् । प्रधानमन्त्री हाँक्न सक्ने धेरै छन् । म पनि एउटा उम्मेदवार हुँ ।’

नयाँ प्रधानमन्त्रीका बारेमा एमालेको स्थायी समिति र केन्द्रीय कमिटीले अन्तिम निर्णय गर्नुपर्ने बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ प्रधानमन्त्री एमालेका अध्यक्ष केपी ओली हो भन्नु भएको छ नि भन्ने प्रश्नको जिज्ञासामा नेता खनालले भने, ‘एमालेले कसलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने हो त्यो एमालेको आन्तरिक कुरा हो । अरु कसैले भन्ने होइन ।’

एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरणका विषयमा सोधिएको प्रश्नको जिज्ञासामा नेता खनालले पार्टी एकीकरणका लागि केही समय लाग्ने बताए । ‘पार्टी एकीकरण हुनुपर्छ । केही समय लाग्छ’, उनले भने, ‘प्रचण्डलाई अध्यक्ष दिने कुनै सहमति भएको छैन । बरु प्रधानमन्त्रीमा आलोपालो हुन सक्छ ।’

Published : Friday, 2017 December 15, 8:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया