दाङमा कांग्रेस बन्यो लोकप्रिय पार्टी, झस्किए कम्युनिष्टहरू

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ जिल्लामा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली कांग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ भने सबैभन्दा बढी मत प्राप्त भएको छ ।

तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको कांग्रेसले क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा सदस्य ‘क’मा विजयी भएकामा समानुपातिकतर्फ दाङमा नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । कांग्रेस पहिलो पार्टी बनेपछि दाङमा एमाले र माओवादी केन्द्रका नेता तथा विजयी भएका उम्मेदवारहरू चकित परेका छन् ।

मंगलबार राति सकिएको मतगणनाको परिणामअनुसार प्रतिनिधिसभातर्फ दाङमा नेपाली कांग्रेसलाई ७३ हजार ९९३ मत प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार दोस्रोमा नेकपा (एमाले) रहेको छ । उसलाई ७३ हजार ११ मत प्राप्त भएको छ । दाङमा माओवादी केन्द्रलाई भने ४३ हजार १९५ मत मात्रै प्राप्त भएको प्रमुख कार्कीले बताए ।

प्रदेशसभातर्फ कांग्रेसलाई ६९ हजार ६५, एमालेलाई ६५ हजार १६७ र माओवादी केन्द्रलाई ४६ हजार ८१७ मत प्राप्त भएको कार्कीले बताए । दाङमा समानुपातिकतर्फ ९.५९ प्रतिशत मत बदर भएको छ ।

Published : Wednesday, 2017 December 13, 5:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया