पाँच नं. प्रदेशमा मुख्यमन्त्रीका तीन दाबेदारहरू

काठमाडौं । ५ नं. प्रदेशको मुख्यमन्त्रीमा एमाले र माओवादी केन्द्रका तीनजना नेताहरूको दाबी सुरु भएको छ ।

एमालेका स्थायी समिति सदस्य समेत रहेका शंकर पोख्रेलले आफूलाई मुख्यमन्त्रीका रुपमा प्रचार गरिरहेका बेला माओवादी केन्द्रका दुईजना दिग्गज नेताहरूले पनि दावी गरेका छन् ।

५ नं. प्रदेशमा एमाले र माओवादी केन्द्रले धेरै सिट जितेका छन् । संभवत उनीहरूले नै मिलेर प्रदेश सरकार बनाउने छन् । नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने लगभग निश्चित सरह छ । कांग्रेस मुख्यमन्त्री पदको दौडभन्दा बाहिर छ ।

पोख्रेललाई चुनौती दिने गरेर माओवादी केन्द्रका सचिवालय सदस्यद्वय कुलबहादुर केसी ‘सोनाम’ र कृष्णध्वज खड्काले मुख्यमन्त्री पदमा दावी गरेका छन् । केसी रोल्पा ‘क र खड्का प्यूठान ‘ख’बाट प्रदेशसभामा निर्वाचित भएका छन् । माओवादीभित्र केसी र खड्का युवा नेताका रुपमा लोकप्रिय मानिन्छन् ।

केसी र खड्का दुबै माओवादीभित्र ठूलो योगदान गरेका नेताहरूमा पर्छन् । दुबैले अहिलेसम्म लाभको पद लिएका छैनन् । मोहन बैद्य निकट रहेका बेला पार्टी विभाजन गरेर गएका केसी पछि रामबहादुर थापासँगै मूल पार्टीमा फर्किएका थिए । केसीले माओवादीको उद्गमस्थल मानिने राप्ती र ५ नं. प्रदेशलाई छाड्न नहुने बताउँदै आएका छन् ।

एमाले नेता शंकर पोखरेल र माओवादी नेता कृष्णध्वज खड्का समकालीन हुन् । शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा खड्का पनि अखिल क्रान्तिकारीको अध्यक्ष थिए ।

माओवादी जनयुद्धको क्रममा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले खड्काको टाउकोको मूल्य समेत तोकेको थियो । जनयुद्धकालमा काठमाडौंबाट पक्राउ पर्दा श्रीमती रेखा शर्मा र उनले सेनाका व्यारेकहरूमा कठोर यातना खेपेका थिए । उनै केसीले अहिले ५ नं. प्रदेशको मुख्यमन्त्रीका लागि लबिङ थालेको उच्च स्रोतले जनाएको छ ।

एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कृष्णबहादुर महरालाई दाङ २ बाट सांसद बनाउने क्रममा ५ नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेललाई बनाउने सहमति भएको छ । यस्तो अवस्थामा अब पोख्रेल, केसी र खड्काबीच मुख्यमन्त्री पदका लागि कडा टक्कर हुने देखिएको छ ।

केसी र खड्का भन्दा पोख्रेल मुख्यमन्त्रीको बलियो दावेदार हुन् । माओवादीका आधार इलाका भनिएका रुकुम, रोल्पा, प्यूठान, दाङका माओवादी उम्मेदवारहरूले दाङलाई प्रदेशको राजधानी बनाउने भनेर भोट मागेका थिए ।

Published : Wednesday, 2017 December 13, 5:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया