टीकापुर काण्डका रेशम चौधरीलाई प्रहरीले पक्राउ गर्ला ?

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ मा खुलेर उपस्थितसमेत नभएका टीकापुर नरसंहारका मुख्य नाइके रेशम चौधरीको जित धेरैका लागि अप्रत्यासित बनेको छ ।

फरार सूचीमा रहेका चौधरीको जित नेपाल प्रहरीका लागि चित्त खुवाउने कारण बनेको छ । प्रतिनिधि सभाको उम्मेदवार दर्तादेखि जितसम्म उनी आफ्नो रोहरवरमै चले । चुनाव प्रचार प्रसारमा समेत सहभागी भएनन् ।

भिडियो च्याट र फोनबाट नै कार्यकर्ता परिचनाल गरे । भौतिकरुपमा चुनावी मैदानमा उत्रन नसकेका चौधरी प्रतिनिधि सभा निर्वाचनमा २० हजार मतान्तरसहित मंगलबार बिहान विजयी भएका छन् ।

सोमवार सम्पन्न मत गणनामा चौधरीले राष्ट्रिय जनता पार्टी नेपालबाट ३४ हजार ३ सय ४१ मत ल्याए । उनका प्रतिस्पर्धी एमालेकी मदनकुमारी शाहले १३ हजार ४ सय ६ मत मात्र प्राप्त गरिन् ।

मंगलवार बिहान कैलालीमा रेशम चौधरीको अनुपस्थितिमै विजय जुलससमेत निस्कियो । कसैले पनि चौधरीलाई देखेनन् । विजेता चौधरी जितको प्रमाणपत्र लिन आउलान् र समातौला भन्दै प्रहरीले सुरक्षा तैनाथी बढायो । पतिको प्रमाणपत्र लिन मंगलबार उनकी पत्नी निर्वाचन कार्यालय पुगेकी थिइन् । तर, कार्यालयले प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले पनि चौधरीलाई कहीँ कतै देखे पक्राउ गर्ने निर्देशन दिइसकेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विनोद घिमिरेले निर्वाचित चौधरी फरार अभियुक्त भएकाले पक्राउ गर्ने तयारी भएको स्वीकार गरे ।

०७२ साल भदैमा कैलालीको टीकापुरमा भएको आन्दोलनमा अञ्चल प्रहरी प्रमुखसहित सात प्रहरी र एक बालकको मारिएका थिए । त्यो घटनामा चौधरीलाई मुख्य योजनाकार रहेको प्रहरीले बताएपछि उनी फरार रहँदै आएका छन् । घटनामा संलग्न केही अझै पनि जेलमा छन् ।

Published : Tuesday, 2017 December 12, 5:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया