कृषि विकास बैंकको ५ करोड हिनामिना गर्ने कर्मचारीहरू पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कृषि विकास बैंक लिमिटेडको मुख्य शाखा कार्यालय न्यूरोडको झण्डै ५ करोड हिनामिना गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई बैंकको रकम एकआपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यका साथमा बैंकको मौज्दात रकम करीव ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न थप ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा कृषि विकास बैंक मुख्य शाखा न्यूरोडका कायम मुकायम शाखा प्रवन्धक काठमाडौं महानगरपालिका–३२ बस्ने रामेछापको रामेछाप नगरपालिका–८ का ४७ वर्षीय प्रेमहरि ढुङगेल, सोही मुख्य शाखाका इसिसी प्रमुख काठमाडौंको टोखा नगरपालिका–८ ग्रिनल्याण्ड बस्ने गोरखाको पालुङटार–४ का ५६ वर्षीय गोपाल गिरी र सोही मुख्य शाखाका कर्जा प्रमुख काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने गोरखाको बक्राङ–२ का ३९ वर्षीय महेश्वर मरहट्टा रहेका छन् ।

यसअघि प्रहरीले ५ करोड हिनामिना गरेको अभियोगमा दीपिका रेग्मीसहितकालाई पक्राउ गरिसकेको छ । उनको बयानका आधारमा थप तीनजना पक्राउ परेका हुन् ।

बिभिन्न व्यक्ति वा संस्थाले बैंकको चेकमार्फत कृषि विकास बैंकको न्यूरोड शाखामा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रोनिक्स चेक क्लियरेन्स (इसिसी) मार्फत सम्बन्धित पैसा हिनामिना गरेको प्रहरीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले उच्च अदालत पाटनबाट सोमबार नै एक हप्ताका लागि समय थप पनि गरेको छ ।

Published : Monday, 2017 December 11, 5:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया