कांग्रेसका दीपक गिरीले देखाए राजनीतिक संस्कार

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आफूलाई मतदान गर्ने दाङ क्षेत्र नं. ३ का मतदाताहरूलाई धन्यवाद दिएका छन् ।

दाङ क्षेत्र नं. ३ मा प्रतिनिधी सभामा पराजित भएपछि गिरीले आइतबार विज्ञप्ति जारी गरेर मतदाताहरूप्रति आभार व्यक्त गरेका हुन् । गिरीले निर्वाचनका क्रममा खटिएका कांग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, सचिवालयका सदस्य तथा सञ्चारकर्मी र निर्वाचन कार्यालयका कर्मचारीहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

कांग्रेस नेता गिरीले आफ्ना प्रतिद्वन्द्वीका साथै एमाले र माओवादी केन्द्रका तर्फबाट दाङबाट विजयी भएका सबै कम्युनिष्ट गठबन्धनका उम्मेदवारहरूलाई बधाइ पनि दिएका छन् । दाङको विकासमा उनीहरूको सधै क्रियाशीलता हुनेमा पनि गिरीले आशा व्यक्त गरेका छन् ।

‘लोकतन्त्रको आत्मा भनेकै आवधिक निर्वाचन हो’, उनले भनेका छन्, ‘हार र जित त प्राविधिक कुरा मात्र हो । लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्न सक्नु मतदाताहरूको सम्मान ठान्नु पर्छ ।’ कांग्रेस नेता गिरीले प्राविधिक रुपमा आफू पराजित भए पनि दाङको विकासमा आफू सधै सक्रिय रहने प्रतिवद्धता पनि जनाएका छन् ।

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनसँगै मुलुक संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको कांग्रेस नेता गिरीको भनाइ छ । ‘अब मुलुकको समृद्धिका लागि सबैको सहयोग मिल्ने वातावरण निर्माणका लागि कम्युनिष्ट गठबन्धनको कार्यशैलीमा निर्भर हुनेछ’, गिरीले विज्ञप्तिमार्फत भनेका छन् ।

Published : Sunday, 2017 December 10, 7:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया