दाङ एमालेभित्रको विवादले उग्ररुप लियो, तर्सिए महरा

घोराही । नेकपा (एमाले) दाङभित्रको टिकट वितरणलाई लिएर भएको विवादले आगोको रुप लिन थालेको छ । शहीद उमेश थापाका हत्यारालाई टिकट दिएपछि सुरु भएको विवादले एमालेभित्र ठूलै रुप लिएको छ ।

नेकपा (एमाले)का जिल्ला कमिटीका एकजना सदस्यले टिकट वितरणमा भएको असन्तुलनले दाङमा बाम गठबन्धनलाई ठूलो नोक्सानी हुने बताए । ‘शंकर पोख्रेलज्यूले आफू खुसी टिकट वितरण गर्नुभएको छ’, ती सदस्यले भने, ‘यसको असर देखिन थालेको छ । विष्फोट हुन मात्रै बाँकी हो ।’

शहीद पत्नी लक्ष्मी थापाले पनि एमालेले शहीदको सम्मान गर्न नसकेको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि जनाइ सकेकी छिन् ।
दाङ क्षेत्र नं. २ मा प्रतिनिधी सभाका लागि उम्मेदवारी दिने तयारी गरेका पोख्रेल अन्तिम समयमा आएर प्रदेश सभामा झरेपछि झन् एमालेभित्र असन्तुष्टि बढेको थियो । एमाले दाङका नेताहरूले संगठन गरेर आफूहरूले मिहिनेत गर्ने पछाडिबाट आएर भाग खोस्ने माओवादी केन्द्रको कार्यशैलीबाट असन्तुष्टि जनाएका छन् ।

स्रोतका अनुसार एमाले दाङभित्रको विवादका कारण शंकर पोख्रेलविरुद्धको समूहले माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महरा र स्वयं पोख्रेलसहितका उम्मेदवारहरूको विपक्षमा भित्रभित्रै अभियान नै चलाएको छ । यसको असर १ र ३ नं. क्षेत्रका उम्मेदवारहरूलाई पर्ने देखिएको छ । एमाले दाङका नेताहरूले पैसाको आडमा टिकट वितरण गरेको आरोप लगाउँदै आएका छन् ।

रिपब्लिका दैनिकलाई मेलबाट प्राप्त हातले लेखेको पत्रमा पनि शंकर पोख्रेलले टिकट वितरणमा देखाएको निरंकुश शैलीको विरोध गरिएको छ । ‘उमेर थापालाई हत्या गर्न आदेश दिने बलिभद्र रानालाई प्रदेश सभाको समानुपातिक सिटको जनजातितर्फ १ नं. मा राखेर शहीदको ठूलो अपमान गरिएको छ’, सो पत्रमा भनिएको छ, ‘तत्कालीन एमालेको जिल्ला कमिटीले बलिभद्र रानालाई कारबाहीको माग गर्दै निर्णय गरेको थियो । त्यो निर्णय अहिले पनि सुरक्षित छ ।’

एमालेभित्रको आन्तरिक असन्तुष्टिलाई नजिकबाट नियाली रहेका दाङ क्षेत्र नं. २ मा प्रतिनिधी सभाका माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महराले पनि धोका पाइने हो कि भनेर सजगता अपनाएको स्रोतको भनाइ छ । ‘बाम गठबन्धनको धेरै विश्वास छैन’, महराले आफू निकटका केही नेताहरूसँग भनेको सम्वाद उदृत गर्दै स्रोतले भन्यो, ‘हामी आफू पनि सचेत भएर प्रचार प्रसारमा लाग्नु पर्छ । मतदाताहरूलाई कभिन्स गर्नुपर्छ ।’

हुन त महरालाई हराउन माओवादी केन्द्रकै नेता वर्षमान पुन र जनार्दन शर्माले समेत भूमिका खेलेको स्रोतको भनाइ छ ।

उता, दाङलाई राजधानी बनाउने र ५ नं. प्रदेशको मुख्य मन्त्री शंकर पोखरेललाई दिने विषयमा घोराहीमा आयोजित चुनावी सभामा एमालेका अध्यक्ष केपी ओलीले एक शब्द पनि नबोलेपछि एमाले र माओवादीभित्र त्यसको त्रास प्रवेश गरेको छ ।

Published : Monday, 2017 December 4, 10:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया