माओवादीका तस्कर उम्मेदवारहरू, यस्ता छन् चर्चित काण्ड (नाम र प्रमाणसहित)

काठमाडौं । प्रदेश र प्रतिनिधी सभाको निर्वाचन मिति नजिकिँदै गर्दा मतदाताहरूले अत्यन्तै विवेक पुर्‍याएर मतदान गर्नुपर्ने भएको छ ।

किन भने दोस्रो संविधानसभाका बेला माओवादीका आठजना सांसदहरूले नक्कली कागजात पेश गरेर स्पेनमा मानव तस्करी गर्न थालेका थिए ।

नेपाल हेर्ने भारतको नयाँदिल्लीस्थित स्पेनको राजदूतावासले माओवादी सांसदहरूले पेस गरेका कागजात नक्कली भएको भन्दै फिर्ता गरिदिएपछि रहस्य खुलेको थियो । माओवादीका आठ सांसदहरू मानव ओसारपरास र गैरकानूनी काम गरेको भन्दै नेपाल प्रहरीको सिआईबीले अनुसन्धान गरेको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृष्णबहादुर महरा र जनार्दन शर्माको दवावमा सिआईबीलाई अनुसन्धान गर्न दिइएको थिएन ।

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएर असम्बद्ध ब्यक्तिको नाम थपेको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले माओवादीका सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, श्रृजना तमारु खत्री, सन्तकुमार थारु, रुपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान गरेको थियो । यीमध्ये केही नेताहरू समानुपातिक र प्रत्यक्षतर्फ उम्मेदवार छन् ।

संसद सचिवालयको अन्तराष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको भिषा सिफारिस पत्रको आधारमा कन्सुलर सेवा विभागले उनीहरूको नाममा सिफारिस पत्र दिएको थियो । संसद सचिवालय र विभागको पत्रमा सांसदको मात्रै नाम सिफारिस थियो । तर, स्पेनका लागी भिषा आवेदन गर्दा सबैको पत्रमा ब्यक्तिगत सहयोगीको रुपमा एक–एक जनाको नाम थपिएको थियो ।

कन्सुलरको पहिलो पत्रमा कुटनीतिक राहदानीको नम्बरसहित स्पेन जाने सभासदको नाम, कार्यक्रम र कार्यक्रमको अवधि उल्लेख छ । दूतावासमा भिषाका लागि पुगेको कन्सुलरको पत्रमा भने सांसदको नाम, कार्यक्रम र कार्यक्रमको अवधिसँगै सांसदसँगै अन्य एक जनाको नाम समेत थपिएको छ ।

सांसद कुँवरको भिषा सिफारिस पत्रमा भरत दनुवारको नाम थपिएको छ । उपाध्यायको पत्रमा सहदेव थापा, खत्रीको पत्रमा अदिना गुरुङ र थारुको नाममा जारी भएको पत्रमा देवेन्द्रप्रसाद साहको नाम थपिएको छ । श्रेष्ठको पत्रमा लोकमान गुरुङ, बोगटीको पत्रमा तेन्डोमा शेर्पा, धामीको पत्रमा पंकज गुरुङ र पहारीको पत्रमा खड्गबहादुर राईको नाम थपिएको छ । पत्रमा थप गरिएको सबैको पद सांसदको नीजि सहयोगी उल्लेख छ ।

विभिन्न कार्यक्रममा सहभागी हुन सांसदको कुटनीतिक राहदानी र सहयोगीको नाममा सामान्य राहदानीमा भिषा आवेदन भएपछि भारतस्थित स्पेनी दूतावासले शंका लागेर त्यसबारे कन्सुलर विभागलाई सोधेको थियो । विभागले भिषा आवेदनमा पेश भएको पत्र र आफूले सिफारिस गरेको पत्र भिडाउदा नाम थपिएको पत्ता लागेको हो । त्यसपछि कीर्तेको जानकारी परराष्ट्र मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयसम्म पुगेको हो ।

सिआइडीका एसपी जगतमान श्रेष्ठसहितको प्रहरी टोली त्रिपुरेश्वरस्थित कन्सुलर कार्यालय पुगेर ती सांसदको सिफारिस पत्र लगायत कागजात लिएर गएको थियो ।

पत्र अनुसार सांसद कुंवरले २८ जुनदेखि १ जुलाईसम्म स्पेनमा आयोजना हुने ‘इन्टरनेशनल इन्टिच्युट अफ सोसल एन्ड इकोनोमिक साइन्स’को कार्यक्रममा सहभागी हुन आवेदन दिएकी थिइन् । उपाध्याय र बोगटीले २९ जुनदेखि १ जुलाईसम्म आयोजना हुने ‘एन्टी माइक्रोबायल रिसर्च (सुक्ष्म जिवाणु अध्ययन)’ सम्बन्धी कार्यक्रममा भाग लिन निवेदन दिएका थिए ।

खत्री र श्रेष्ठ २८ जुनदेखि १ जुलाईसम्मको ‘टिचिङ एन्ड एजुकेशन’ कार्यक्रम, थारुले ११ जुलाईदेखी १३ सम्म आयोजना हुने ‘इन्टरनेशनल रिन्युवेबल इनर्जी एन्ड इन्भायोरोमेन्ट कन्फ्रेन्स’मा जान निवेदन दिएका थिए । धामी र पहरीले जुलाई २१ देखि २४ तारिखसम्म आयोजना हुने भाषासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आवेदन दिएका थिए ।

उनीहरूले दिएको निवेदनको आधारमा शाखाले २०७३ जेठ २३ मा भिषा सिफारिसका लागि कन्सुलर सेवा विभागमा पत्र पठाएको थियो । उनीहरूले भिन्न–भिन्न कार्यक्रममा सहभागी हुन निवेदन दिए पनि संसद सचिवालयले कन्सुलर विभागलाई जेठ २३ गते सबै सिफारिसपत्र एकैसाथ पठाएको थियो । शाखाको पत्रको आधारमा कन्सुर विभागले ५ जुनमा ‘जो जससँग सम्बन्धित छ’ भन्ने पत्र लेख्दै भिषाका लागि सिफारिस गरेको थियो ।

बर्दिया जिल्लाबाट प्रतिनिधी सभाको सदस्यमा माओवादीबाट उम्मेदवारी दिएका सन्तकुमार थारुले पनि स्पेन जान उनीसँगै नाम सिफारिस भएको देवेन्द्रप्रसाद साह विदेश लैजान लागेका थिए । पछि थारुलाई प्रचण्डले मन्त्री समेत बनाएका थिए ।

Published : Monday, 2017 December 4, 5:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया