विजयको सन्नीकटमा कांग्रेसका दीपक गिरी

– सुवास डिसी

जव म नेपालको परिकल्पना गर्छु, त्यसवेला तीनै गरिव नेपाली दाजु भाइहरूको तस्वीर मेरो आँखा अगाडि आउछ, महिला लुगा लगाएको, खान नपाएको र रोगी अनुहारको तस्वीर, अनि मलाई लाग्छ, ती रोगी, खान नपाएकाहरूको हो हाम्रो, देश । त्यसो हुनाले त्यहि खान नपाएको पेटमा अन्न जावस् । हास्न नपाएको ओठमा हासो आवस्, रोगीले औषधिमुलो पावस् । केटाकेटीले पढ्न पाउन भनेर नै हामी राजनीतिमा लोगेका हौ । – वीपी कोइराला

यीनैमहान वाणीका अनुयायी यूवा नेता दीपक गिरी, आसन्न निर्वाचनमा दाङ जिल्ला क्षेत्र नं. ३ वाट प्रतिनिधी सभा सदस्य उम्मदवारका रुपमा दंगाली जनता माझ उपस्थित भएका छन् । एउटा १३ वर्षीय ठिटो, तानाशाही, स्वेच्छाचारी शासनलाई उखेलेर फ्याक्ने दृढ संकल्प अनि शासन सत्ताको सम्पूर्ण वाग्डोर जनताका प्रतिनिधिहरूको हातमा रहनु पर्छ भन्ने उत्कट अभिलाषा बोकर प्रजातन्त्र प्राप्तीको लडाइमा होमिन्छ । एउटा ठिटोकायस्तै ठूला सोचले नै होला, कांग्रेस नेता गिरीलाई तत्कालिन प्रशासनले आँखी वनाइरह्यो । मुलुकमा प्रजातन्त्र प्राप्तीको अभियानमा लागेको आरोपमा उहाँ २०३० सालमा तुलसीपुरस्थित महेन्द्र मा.विमा पढ्दा पढ्दै गिरफ्तार भए । १३ वर्षकै उमेरमा प्रशासन द्धारा गिरफ्तार भई १३ दिन सम्म हिरासतमा बस्नु पक्कै पनि अहिलेको सन्दर्भमा स्मरणीय कुरा हो ।

। २०३१ सालमा अर्थात १४ वर्षकै उमेरमा अञ्चलाधिसको ठाडो आदेशमा २९ दिन सम्म हिरासतमा रहनु, २०३७ सालमा ५७ दिन सम्म अञ्चलाधिशको ठाडो आदेशमा हिरासतमा रहनु, २०४६ सालपूर्व प्रशासनको मुख्य निशानामा रहदै भुमिगत रुपमै पार्टीको काममा सक्रिय भुमिका निर्वाह गर्नु, २०६२।०६३मा काठमाण्डौंको गंगवुमा लोकतन्त्र प्राप्तीको जनआन्दोलनमा नेतृत्वदायि भुमिका निर्वाह गर्नु कांग्रेस नेता गिरीको जीवनका रोमाञ्चकारी र कहाली लाग्दा ऐतिहासिक पलहरू हुन् ।

वि.सं २०१८ साल चैत्र ३ गते बुबा लोकमणी गिरी र माता छायादेवी गिरीको कोखवाट दांगको सुकदेवामा जन्मिएका गिरी नेपाली राजनीतिको मीयो हुन् ।

प्राथमिक तहको अध्ययन काठमाण्डौं स्थित सेन्ट जोसेफ स्कुलमा र मा.वि तह सम्मको अध्ययन तुलसीपुर स्थित महेन्द्र मा.विमा गरेका जुझारु नेता गिरी त्रिभुवन विश्व विद्यालयवाट इतिहासमा स्नातकोत्तर उतिर्ण गरेका छन् । जनता माझ जुझारु र विकास प्रेमी नेताका रुपमा स्थापीत गिरीको नेपाली कांग्रेस यात्रा २०३४ सालमा भारतको गोरखपुरमा सक्रिय सदस्यता लिएर भएको हो ।

२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिई महामानव वि.पी. कोइराला काठमाण्डौंमा ओर्लदा उहाँको स्वागतमा सक्रियतापूर्वक खटिने मध्यका एक हुन्, यूवा नेता गिरी । २०३४ सालमा दांग जिल्लाको क्षेत्रीय सभापति, २०३६ सालमा नेविसंघको केन्द्रीय सदस्य, २०३६ सालमै नेविसंघको राष्ट्रिय अधिवेशनको तैयारी समितिको संयोजक, २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय एक्सन कमिटीको सदस्य, २०४३ सालमा त्रिभुवन विश्व विद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनको महासचिव र २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर नेतृत्वदायि भुमिका निर्वाह गरेको ऐतिहासिक पृष्टभुमि कांग्रेस नेता गिरी सित छ ।

उसोत २०४६ सालदेखि आज पर्यन्त पार्टीको महाधिवेशन प्रतिनिधी एवं महासमिति सदस्य हुदै पार्टीको केन्द्रीय सदस्यको महत्वपूर्ण जिम्मेवारी वहन गरेको अनुभव पनि छ ।

कांग्रेस केन्द्रीय सदस्य गिरीसित २०५१ सालमा तथा २०६४ साल चैत्र २८ गते सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा संविधान सभा सदस्यका लागि उम्मेदवार भएको तथा २०७० साल मंसिर ४ गते सम्पन्न निर्वाचनमा दांग जिल्ला क्षेत्र नंम्वर ५ वाट संविधान सभा सदस्यमा निर्वाचित भएर २०७३ साल भदौ १० गते नेपाल सरकारको सिंचाइ मन्त्रीका रुपमा जिम्मेवारी बहन गरेको अनुभव छ ।

आफ्नो नौ महिने छोटो कार्यकालमा पनि सिंचाइ क्षेत्रका साथै यातायात, खानेपानी पुलपुलेसा तथा कृषी क्षेत्रको विकासका लागि विषेश काम गर्ने मन्त्रीका रुपमा स्थापीत नेता गिरी देशव्यापी रुपमै विकास प्रेमि र जुझारु नेताका रुपमा परिचित छन् ।

रमणीय दाङ उपत्यकालाई प्रदेश नम्बर ५ को राजधानी बनाउन कम्मर कसेरै लागेका पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य गिरीकै अगुवाईमा तुलसीपुरमा उच्च अदालतको स्थापना तथा संघिय प्रहरि इकाइ कार्यालयको स्थापना भएको हो ।

दाङ वृहत् सिंचार्इं योजना, प्युठान रोल्पाको माडी तथा लुँग्री नदीको पानीलाई दाङमा ल्याउने, सल्यानको शारदा नदीको पानीलाई दाङमा ल्याउने जस्ता आयोजनाहरूका सुत्रधार कांग्रेस नेता गिरीसित दाङका सम्पूर्ण खोलालाई हाईड्याम बाँध बाँध्ने, ताल तलैयाको संरक्षण गर्ने, पानीका मुल, मुहान, कुवाँ, इनारहरूको संरक्षण गर्ने, डिप बोरिङ (भुमिगत जलश्रोत)को विकास गर्ने, लिफ्ट सिंचाई गरि दंगाली मलिलो फाटलाई अन्न भण्डार जिल्लाका रुपमा स्थापित गर्ने महान योजना छ ।

उसोत फोहरा सिंचाई तथा नयाँ योजनाहरू, बवई नदी र दाङका खोलाहरूलाई गुरुयोजना अनुसार नै उपयोग गरेर कृषी पकेट जिल्लाका रुपमा विश्वसामु चिनाउने र दंगाली कृषकको आय आर्जनमा वृद्धि गरि आम कृषकहरूका सपना साकार पार्ने योजनाहरू छन् । यसका लागि उहाँले आफ्नो कार्यकालको छोटो अवधिमै पनि धेरै कामको थालनी गरिसकेका छन् ।

दाङ–सुर्खेत र दाङ–रुकुम सडकको निर्माण, राप्ती राजमार्गमा कालोपत्रे, दाङ–सल्यानको वैकल्पिक राजमार्गको रुपमा रहेको दोघरे–प्रतापकोट–मख्खनटाकुरी–सल्यानको लुहाम सडक , गोल्टाकुरी बंगलापुर–फुर्केसल्ली मलै हुँदै पुर्व–पश्चिम राष्ट्रिय राजमार्ग जोड्ने सडक, हापुरे गँगटे–धोवाघाट हुँदै कोहलपुर जोड्ने सडक, पवननगर हेल्थपोष्ट, सुन्दरादेवी मन्दिर हुँदै सल्यान जोड्ने सडक, सुकौरा दाङ चरकमटिया जोड्ने सडक, रंगैचा वागमारे विष्णुपुर सल्यानको हारीचार जोड्ने सडक, पुरन्धारको हापुरे विजयनेटा सल्यान जोड्ने सडक, निर्माणाधीन सुकदेवा ववई वालापुर पवननगर हेल्थपोष्ट देवीस्थान ठाँटीगाँउ काफलठुटा हुँदै सल्यानको ढुङ्गेवगर जोड्ने सडकको कालोपत्रे, पुरन्धारा बगाले चौतारी–दाङको उत्तरी भेगवाट रक्षाचौर आँखा अस्पताल हुँदै हापुर घोराही जोड्ने मार्ग निर्माण एवम् कालोपत्रे गर्नु, ववई नदीको किनारै किनार दामोदर रोडलाई पूर्णता दिनु, मलै–ढोलपुर कोर्वाङ काशीपुर, रंगैँचा जुम्लेकुला, भलानेटी, वस्तीखोला, सुन्दरादेवी सडक कालोपत्रे गर्ने लगाएतका योजनाहरू कांग्रेस नेता दीपक गिरीका महत्वपूर्ण उपलव्धीहरू हुन् । उसोत पश्चिम दाङको सन्दर्भमा पुरन्धारा छहरा, चमेरे गुफा, सुकौराकोट, राप्ती शान्ति उद्यान प्रसिद्ध छन् भने धार्मिक पर्यटकीय क्षेत्रका रुपमा त्रिमुखेश्वर महादेव मन्दिर, सुन्दरादेवी भगवति मन्दिर, त्रिसिद्धेश्वरी मन्दिर, सितलपुर सिद्धेश्वरी मन्दिर, रतननाथ मठ, भवन्तनाथ मन्दिर, बौद्ध गुम्वा, भूयाँरथान, मस्जिद, चर्च लगाययका विभिन्न कला संस्कृति र सभ्यता तथा इतिहास झल्काउने स्थानहरूको विकास र संरक्षण तथा पर्यटन क्षेत्रको विकास गर्न मिनि चिडियाखाना, इन्धन डिपोको स्थापना गरी टरिगाउँ एयरपोर्टको सञ्चालन एवम् स्तर उन्नति गर्नु पूर्व मन्त्री गिरीका कार्यभारहरू हुन् ।

विद्युतको नियमित आपूर्तिका लागि पुर्व पश्चिम राजमार्ग (१३२ के.बी) प्रशारण लाइनबाट हापुरे च्यान्टीखोलामा सवस्टेशन निर्माण गरी ३३ के.बी विद्युत प्रशारण तथा तुलसीपुर क्षेत्रको विद्युत प्रसारणको सुधार एवम् विस्तार गरीसुलभ तरिकावाट नियमित विद्युत आपुर्ति तथा सौर्य एवं नविकरणीय उर्जाको विकासका लागि प्रसस्तै भएका छन् ।

उच्च शिक्षा हासिल गर्नबाट बञ्तित हुन नपरोस् भन्ने मुलभुत उद्देश्यका साथ तुलसीपुर क्षेत्रमा पहिलो क्याम्पस, राप्ती ववई वहुमुखि क्याम्पसतथा पुरन्धाराको पुरन्धारा बहुमुखी क्याम्पसको स्थापनामा गिरीको महत्वपूर्ण भुमिका छ । जिल्लामा ठूलो संख्यामा रहेका आदिवासि थारु समुदायको हक अधिकारको रक्षा तथा थारु संस्कृती, परम्परा तथा थारु समुदायमा निहित अथाह सीपलाई व्यवसायिकरण गर्दै खासगरि थारु समुदायका महिलाहरूलाई समेत आत्मनिर्भर वनाउने अभिलाषा गिरी सित छ ।

उसोत जिल्लामा पछि पारिएका दलित, अपांगको बृत्ति विकास एवं विभिन्न धर्म प्रति आस्थावान जनताहरूको धार्मीक परम्परालाई सम्मान गर्दै संरक्षण गर्ने गरि योजनावद्ध श्रृंखला शुरु गर्नुपर्छ भन्ने मान्यता कांग्रेसका लोकप्रिय नेता गिरीको रहेको छ ।

आफू सिंचाई मन्त्री भएका वखत, आफ्नो नौ महिने छोटै कार्यकालमा देशव्यापी रुपमा सिंचाइ संग सम्वन्धित अथाहा परियोजनाहरूको शुरुवात गरेर देश व्यापीरुपमा चर्चा बटुलेका दंगाली जनताका हतैसी गिरीलाई उहाँको पार्टी नेपाली कांग्रेसले आसन्न मंसिर २१ गतेको निर्वाचनमा दांग जिल्ला क्षेत्र नम्वर ३ वाट प्रतिनीधि सभा सदस्यको उम्मेदवारका रुपमा अघि सारेको छ । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पदाधिकारीका लागि तैयारी गरिरहेका गिरीको विजयसंगै दाङमात्र होईन सिंगो यो भेगले नै बिकासको काँचुली फेर्ने अपेक्षा गर्न सकिन्छ ।

Published : Monday, 2017 December 4, 12:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया