प्रधानमन्त्री ओली कि प्रचण्ड ? भित्रभित्रै ‘टक्कर’

काठमाडौं । प्रधानमन्त्री बन्ने विषयमा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भित्रभित्रै शीतयुद्ध सुरु भएको छ ।

एमालेका अध्यक्ष ओलीले भावी वामपन्थी सरकारको प्रधानमन्त्री आफू बन्ने भनेर चुनावी सभाहरूमा अभिव्यक्ति दिन थालेपछि प्रचण्ड र माओवादीका दोस्रो तहका नेताहरू सशंकित बनेका हुन् । प्रचण्डले पनि चितवनमा आयोजित चुनावी सभाहरुमा आफू एउटा न एउटा कार्यकारी पदमा रहने भन्दै ओलीतर्फ जवाफ तेस्र्याउन थालेका छन् ।

६०–४० को भागबण्डासहित वाम गठबन्धन बनाएर निर्वाचनमा प्रस्तिस्पर्धा गर्दै गरेका एमाले र माओवादीका नेताहरूको अभिव्यक्तिमा भिन्नता देखिन थालेको हो ।

विशेष गरेर एमालेका अध्यक्ष ओलीले माओवादीका नेताहरूलाई होच्याएर बोल्ने गरेका कारण तिक्तता सुरु भएको स्रोतको भनाई छ ।

‘केपी ओलीले पूर्वसहमति विपरित आफूलाई भावी कम्युनिष्ट सरकारको प्रधानमन्त्रीका रुपमा सबै चुनावी सभाहरूमा अगाडी सार्नु हुन्छ’, माओवादी केन्द्रका नेता एक नेताले भने,‘प्रचण्ड र ओलीबीच कटुता बढिरहेको छ ।’

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पनि केपी ओलीले एमालेका उम्मेदवार र आफ्नाबारेमा मात्रै बोल्ने गरेको आरोप लगाएका छन् । दाङको घोराहीमा माओवादीका सीमित नेताहरूसँगको गोप्य भेटघाटमा महराले केपी ओली र एमालेका नेताहरूको बोली र व्यवहारमा मा कुनै भर नभएको बताएका हुन् ।

प्रचण्डले पनि एक दिन अगाडी चितवनको चुनावी सभामा आफू प्रधानमन्त्री बन्ने संकेत गरेका थिए । ‘म दुई पटक प्रधानमन्त्री बनिसकेको व्यक्ति हुँ । तपाईहरू जस्तै गरिव परिवारको मान्छे हुँ’, उनले भनेका छन्,‘फेरि पनि प्रधानमन्त्री बन्ने सम्भावना छ । प्रधानमन्त्री बने भने चितवन मात्रै होइन समग्र देशको विकास गर्छु ।’

उता, केपी ओलीले घोराही, बर्दियासहितका अधिकांश चुनावी सभाहरूमा निर्वाचनको मतपरिणाम आएपछि कम्युनिष्टहरूको चुनाव हुने र त्यसको नेतृत्व एमालेले गर्ने घुमाउरो भाषामा बताउँदै आएका छन् ।

त्यसको अर्थ ओलीले फेरि पनि आफू प्रधानमन्त्री बन्ने संकेत गरेका हुन् । ओलीको यो व्यवहार र अभिव्यक्तिलाई माओवादीका नेताहरूले रुचाएका छैनन् । पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा ओलीमा झन् घमण्ड उत्पन्न भएको माओवादी नेताहरूको बुझाइ छ ।

Published : Thursday, 2017 November 30, 10:55 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया