पोखरामा उर्लियो जनसागर, कांग्रेस नेताहरू दङ्ग

पोखरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन लागेको आरोप लगाएका छन् ।

‘जनतासँग शासन बदल्ने कि राख्ने भन्ने अधिकार छ, हामी जनतादेखि नेता डराउने शासनको पक्षमा छौँ’, बुधबार पोखराको अमरसिँह चोकमा बुधबार आयोजित कांग्रेसको चुनावी सभालाई संवोधन गर्दै देउवाले भन्नुभयो, ‘कम्युनिष्टसँग जनता हिजो पनि डराउँथे, भोलि पनि डराउने दिन ल्याउन लागेका छन् ।’

वम गठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने, लेख्ने र सम्पत्तिको अधिकार अपहरण हुने बताउँदै उनले वामगठन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको जिकिर समेत गरे । ‘यो चुनाव कम्युनिष्ट दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने जनमत संग्रह हो’, वामगठबन्धनको आलोचना गर्ने क्रममा देउवाले भने, ‘यो संविधानले आदिवासी, जनजाति, मधेशी सबैलाई ठाउँ दिएको छ तर कम्युनिष्टहरूले संविधान खारेज गरेर तानशाही लाद्न खोजेका छन् ।’

कांग्रेसले स्थापना कालदेखि नै जनतालाई मालिक बनाउने लक्ष्य लिएको र २००७ सालदेखि परिवर्तनको नेतृत्व गरेको कांग्रेसले वामगठबन्धनको इरादा पूरा हुन नदिने दावी पनि उनले गरे ।

देउवाले वामगठबन्धन दिएको सम्वृद्धिको नारा फोस्रो भएको आरोप लगाए । ‘कहाँबाट समृद्धि ल्याउँछन्, उनीहरु आए स्वदेशी ÷विदेशी कुनै पनि लगानी नेपालमा थपिदैन’, उनले भने, ‘विदेशी त आउँदैनन्, आउँदैनन्, स्वदेशी लगानी पनि बाहिर जान्छ ।’

कांग्रेसको उदार आर्थिक नीतिलाई स्वदेशी तथा विदेशी लगानीकर्ताले विश्वास गर्ने जिकिर गर्दै उनले मुलुकलाई कांग्रेस नेतृत्वको सरकारले मात्र धनी बनाउने दावी गरे ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले संसारमै असफल साम्यवादको नाममा नेपाललाई फोहर थुपार्ने कण्टेनर बनाउन लागेको आरोप लगाए । स्थानीय निकायको निर्वाचनबाट केही अगाडि देखिना साथ एमालेले बहुदलीय मान्यतालाई तिलाञ्जली दिएर साम्यवाद अंगाल्न पुगेको जिकिर गर्दै उनले भने, ‘अहिले एमालेले चरम अवसरवादिता प्रकट गरिरहेको छ ।’

आफैले हस्ताक्षर गरेको संविधानमा मसी नसुक्दै एमाले र माओवादीले अनर्थको कुरा गरेको बताउँदै उनले कम्युनिष्टहरूले समस्या मात्र जन्माउने तर त्यसको समाधान नखोजेको बताए ।

वाम गठबन्धनको सरकार बने सबैभन्दा पहिले समावेशी व्यवस्थाको अन्त्य हुने बताउँदै उनले तेस्रो विश्वमा लोकतन्त्रको रक्षा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिबाट हुनै नसक्ने दावी गरे ।
‘समावेशितालाई बामगठबन्धनले सबैभन्दा पहिले खोस्छ’, उनले भने, ‘कार्यकारी राष्ट्रपति हुँदा अरु ताली बजाउन जाने हो, राष्ट्रपतिले अन्तैबाट संचालन गर्छ ।’

महामन्त्री डा.सशांक कोइरालाले कांग्रेसलाई जिताएमा नेपालीको भाग्यरेखा परिवर्तन हुने बताए ।

उद्योगपति विनोद चौधरीले आफू राजनीति गर्न नभई बलियो अर्थतन्त्रको आधारशीला तयार पार्न कांग्रेसमा आवद्ध भएको बताए ।

कांग्रेसले २०४८ सालमा लिएको उदार आर्थिक नीतिका कारण देशले फड्को मारेको दृष्टान्त दिँदै चौधरीले रोजगारी सृजना र आर्थिक उन्नति कांग्रेसको एजेण्डा भएको दावी गरे ।

निर्वाचन परिचालन कमिटीका संयोजक बालकृष्ण खाँणले कांग्रेसलाई सिध्याउन खोज्नेहरु आफै सकिएको दृष्टान्त दिँदै अब सकिने पालो एमालेको भएको बताए ।

सभालाई कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महत, धनराज गुरुङ, उद्योगपति सूर्यबहादुर केसी, पूर्वमन्त्री कुमार खड्का सहित कास्कीमा कांग्रेसका तर्फबाट प्रतिनिभि सभातर्फ उम्मेदवारी दिएका यज्ञबहादुर थापा, देवराज चालिसे, शुक्रराज शर्मासँगै प्रदेशसभाका उम्मेदवारहरूले पनि संबोधन गरेका थिए ।

प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला सहितको नेपाली कांग्रेसका शीर्ष नेताहरुले बुधबार स्याङ्गजा र नवलपुरमा भएका आमसभालाई पनि संबोधन गरेका थिए ।

Published : Wednesday, 2017 November 29, 7:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया