झापामा देउवा–पौडेलको ‘गर्जन’

झापा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले एकदलीय कम्युनिष्ट अधिनायकवाद मुलुकका लागि स्वीकार्य नहुने बताएका छन् ।

उनले एमाले र माओवादी केन्द्रले सत्ता स्वार्थका लागि बाम गठबन्धन गरेर मुलुकलाई विभाजन तर्फ उन्मुख गराएकाले त्यसलाई जनताले स्वीकार गर्न नसक्ने बताए ।

झापाको गौरादहमा सोमबार कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्र र संविधान समाप्त गर्न उद्देश्यले बाम गठबन्धन भएको दावी गरे ।

देउवाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मुलतः एकदलीय कम्युनिष्ट रोज्ने की लोकतन्त्रवादी पार्टीलाई रोज्ने अवसर भएको बताए । उनले लोकतन्त्र विना मुलकले समृद्धि नपाउने भएकाले जनताले लोकतन्त्रका पक्षधरलाई जिताउनेमा जोड दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक परिवर्तन र विकासका लागि कांग्रेसले गरेको अगुवाई नै निर्वाचन जित्ने कांग्रेसको मुख्य आधार भएको बताए ।

देउवाले २००७ सालदेखि संविधान सभाबाट समावेशी संविधान निर्माणसम्म कांग्रेसले निर्वाह गरेको नेतृत्वदायी भूमिकालाई जनताले भुल्न नसक्ने पनि जिकिर गरे ।

उनले नेपाली दाजुभाईका बीचमा मधेस र पहाडका नाममा झगडा मच्चाउने काम भईरहेको परिवेशमा कांग्रेसले मात्रै हिमाल, पहाड र मधेसलाई सम्बोधन गर्न सक्ने पनि बताए ।

देउवाले कांग्रेसकै अगुवाईमा जारी भएको नयाँ संविधानले सबै आदिवासी जनजाती, मधेसी लगायतका जातजातीहरूलाई अधिकार प्रदान गरेको बताउँदै यसको सफल कार्यन्वयनका लागि कांग्रेसले नै बहुमत ल्याउनु आवश्यक रहेको बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बाम गठबन्धनलाई अनिष्टको संज्ञा दिनुहुदै त्यसको औचित्य नभएको टिप्पणी गरे ।

बाम गठबन्धनप्रति कडा रुपमा प्रस्तुत भएका नेता पौडेलले जनतालाई झुक्याएर साम्यवादको सपना नदेख्न गठबन्धनलाई चेतावनी दिए ।

Published : Monday, 2017 November 27, 7:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया