रातो पासपोर्ट ‘बेचुवा’ माओवादी उम्मेदवार यादवको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले सर्लाही ४ का माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गरेको छ ।

कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमाथि परेको उजुरीमा कारबाही गर्दै आयोगले यादवको उम्मेदवारी खारेज गरेको हो ।

पूर्वसभासद्समेत रहेका यादवले कुटनीतिक राहदानी दुरुपयोग गरेकाले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो । सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसबाट अमरेशकुमार सिंह उम्मेदवार बनेका छन् । यादव वाम गठबन्धनका साझा उम्मेदवार थिए ।

विशेष अदालतले २६ साउन २०७२ मा कूटनीतिक राहदानी (सरकारी कागजात) सच्याई हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फैजदारी अभियागमा रायलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सर्लाही ६ मा निर्वाचित यादवले तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुर र कांग्रेस उम्मेदवार अमरेशकुमार सिंहलाई पराजित गरेका थिए । त्यतीखेर यादव मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेका थिए ।

०७० को संविधानसभा निर्वाचनमा भने महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीबाट सर्लाही ६ मा उम्मेदवार बनेका उनी कांग्रेसका अमरेशकुमार सिंहसँग पराजित भए ।

तमसपापछि उनी राजपा प्रवेश गरेका थिए । स्थानीय तहको निर्वाचनअघि यादव माओवादी केन्द्रमा प्रवेश गरी सर्लाही ४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका थिए ।

कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा मुछिएका पूर्वसभासद् यादवलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको थियो । त्यसउपर उनी पुनरावेदनमा गए पनि अहिलेसम्म मुद्दा किनारा लागेको छैन ।

सर्लाहीका स्थानीय नागरिकका नाममा यादवविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेजीका लागि उजुरी परेको थियो ।

उनीविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उमेदवार अनिलकुमार सिंहले कात्तिक १९ गते आयोगमा निवेदन दर्ता गराएका थिए । आयोगले रायको विषयमा निर्णय गर्न ढिला गरेपछि उजुरीकर्ताहरु सर्वोच्चमा समेत रिट दायर गरेका छन् ।

सर्वोच्चले त्यस विषयमा आयोगसँग जवाफ मागेपछि आयोगले उक्त जवाफ पठाउनु अगावै रायको उम्मेदवारी खारेज गरेको हो । आयोगले प्रतिनिधिसभाको निर्वाचन ऐनअनुसार रायको उम्मेदवारी खारेज गरिएको र सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृत र उम्मेदवार रायलाई जानकारी गराउने निर्णय गरेको छ ।

Published : Monday, 2017 November 27, 11:04 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया