चुनावको मुखमा महराका खास मान्छे कांग्रेसमा प्रवेश, माओवादीलाई अपुरणीय क्षति

तुलसीपुर । नेकपा (माओवादी केन्द्र) दाङका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य धनु राना मगर ‘भीमसेन’ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार दाङको प्रसडुवामा आयोजित कांग्रेसको चुनावी कोण सभामा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् दाङ क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य दीपक गिरीले पार्टीमा प्रवेश गराएका हुन् ।

माओवादी केन्द्रले लिएको नीति र जनताको अधिकार खोस्ते कार्यशैलीको विरोध गर्दै मगरले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेको जनाए ।

‘भीमसेन’लाई दाङ क्षेत्र नं. २ बाट प्रतिनिधी सभामा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका खास मान्छेका रुपमा चिनिएका थिए ।

महराको कार्यशैलीको विरोध गर्दै उनले दाङका माओवादी केन्द्रका मतदाताहरूलाई नेपाली कांग्रेसका उम्मेदवारहरूलाई मतदान गर्न अपील गरेका छन् ।

त्यसैगरी, राप्रपाका युवा नेता तथा क्षेत्र नम्वर ५ का अध्यक्ष प्रमोदकुमार बस्नेत, सचिव सुरेन्द्र जिसी, शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष हेमन्त डाँगी, युवक संगठनका क्षेत्रीय अध्यक्ष विराज पुनसहित झण्डै ३ सय राप्रपाका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेमा दाङ एमाले र माओवादी केन्द्रका सैयौँ नेता तथा कार्यकर्ताहरू रहेको नेपाली कांग्रेस दाङको सूचना केन्द्रद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

०५२ सालदेखि नै तत्काली विद्रोही माओवादीको सेनामा प्रवेश गर्दैै माओवादीको राजनीति शुरु गरेका ‘भीमसेन’ बटालियन कमाण्डरको भूमिकामा लामो समयसम्म काम गरेका उच्च नेता हुन् । त्यस बेला भीमसेनले रोल्पाको उघा क्याम्पमा रहेर ३०० भन्दा धेरै माओवादी सेनाको कमाण्ड सम्हालेका थिए ।

डोल्पाबाट राजनीतिक यात्रा शुरु गरेका भीमसेन अहिले पश्चिम दाङको प्रसडुवामा बस्दै आएका छन् ।

राप्रपाका युवा नेता प्रमोदकुमार बस्नेतले कम्युनिष्ट पार्टीलाई पराजित गर्न र लोकतन्त्रलाई बलियो बनाउन नै आफू कांग्रेसमा प्रवेश गरेको बताए । उनले नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन आफूले विशेष भूमिका खेल्ने बताए ।

Published : Saturday, 2017 November 25, 8:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया