केपी ओलीको सबैभन्दा ठूलो चुनौती ‘प्रचण्ड’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले गोयबल्स शैलीमा प्रतिस्पर्धी दल नेपाली कांग्रेसविरुद्ध मतदाताहरूमा भ्रम पार्ने प्रयास गरिरहेका छन् ।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले अधिनायकवाद ल्याउने भित्री तयारी गरेको खुलासा कांग्रेसले गरेपछि ओली आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् । ओलीका सम्पूर्ण सम्बोधन कांग्रेस विरुद्ध हुने गरेका छन् ।

ओलीले कांग्रेसलाई मात्रै होइन कांग्रेसका शीर्ष नेताहरूको चरित्र हत्यासम्म गर्न चुकेका छैनन् । प्रधानमन्त्री बनिसकेको जिम्मेवार नेताले व्यक्तिगत तहमा पुगेर कांग्रेसका नेताहरूविरुद्ध लाञ्छना लगाउने कार्यको विरोध भइरहेको छ ।

ओलीले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, महेश आचार्य, मीनेन्द्र रिजाल, गगनकुमार थापासहितका नेताहरूविरुद्ध आक्रोश व्यक्त गर्न थालेका छन् । ओलीका भाषणहरूमा ती कुरा राम्रोसँग सुन्न र देख्न पाइन्छ ।

ओलीले कांग्रेस नेतृत्वको वर्तमान सरकारले गरेका निर्णयहरू पनि मंसिर २१ गतेको निर्वाचनपछि बन्ने कम्युनिष्ट सरकारले उल्टाइदिने भनेर धम्की दिइरहेका छन् । ओलीले सुरक्षाकर्मी र कर्मचारीहरूलाई कम्युनिष्टहरूको पक्षमा काम नगरे मंसिर २१ गतेपछि बन्ने कम्युनिष्ट सरकारले कारबाही गर्ने भनेर धम्की दिइरहेका छन् । ओलीको यो सबै कांग्रेसको डरको उपमात्रै रहेको विश्लेषण हुन थालेको छ ।

दुई ठूला कम्युनिष्ट पार्टी मिलेर बनेको वाम गठबन्धन मिल्दा पनि नेपाली कांग्रेसलाई कुनै असर पार्ने नदेखेपछि ओलीलाई ठूलो आघात पुग्न थालेको छ । ओलीले चुनावी माहोललाई आफ्नो पक्षमा बनाउन मंसिर २१ गतेपछि कम्युनिष्टहरूको सरकार बन्ने दाबी गरिरहेका छन् । त्यति मात्रै होइन ओलीले मंसिर २१ गतेपछिको सरकारको प्रधानमन्त्री आफू बन्ने भनेर दाबी गरिरहेका छन् ।

तर, ओलीले के बुझेका छैनन् भने यो देशमा नेपाली कांग्रेस जस्तो ठूलो लोकतान्त्रिक शक्ति छ भन्ने भुलेका छन् । ओलीले कांग्रेसलाई भुलेका त छैनन् । अहिले आएर भुलेको जस्तो गरेका छन् । प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने सर्वेक्षणहरूले देखाइ रहेको छ । ओली प्रधानमन्त्री बन्ने कुनै सवाल बन्दैन ।

‘बहुमत नआएपछि मंसिर २१ गतेपछि कांग्रेसबाट प्रधानमन्त्री बन्ने अवस्था पनि आउन सक्छ’, कांग्रेसका नेता बालकृष्ण खाँडले भनेका छन् । ओलीले आफ्नै वाम गठबन्धनका प्रमुख पात्र पुष्पकमल दाहाल प्रचण्डलाई देख्न छाडेका छन् । प्रधानमन्त्री बन्ने सपना देखेर सबैलाई धम्काइ रहेका ओलीलाई सबैभन्दा ठूलो चुनौती प्रचण्डको हुने एमालेका स्थायी समिति सदस्यले बताएका छन् ।

कानूनी शासनको कुरा गर्दै आएका ओलीले उमेश गिरी जस्ता आपराधिक पृष्ठभूमिका नेताहरूलाई एमालेमा भित्र्याएका छन् । ओलीले दीपक मनाङ्गे जस्ता गुन्डा नाईकेलाई जिताउन ठूलो प्रयास गरिरहेको एमालेभित्रै आरोप छ । ओलीले अहिले जसरी पनि एमालेलाई ठूलो दल मात्रै बनाउने प्रयासमा छन् । यो स्वभाविक पनि हो ।

ओलीको योजना बुझेका प्रचण्डले एमालेलाई ठीक साइजमा राखेर मंसिर २१ पछि कांग्रेससँग मिलेर सरकार बनाउने तयारीमा रहेको स्रोतको भनाइ छ । कांग्रेसले ओलीलाई कुनै पनि हालतमा प्रधानमन्त्रीको कुर्सीमा जान दिने छैन ।

कांग्रेसले बरु प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सी सुम्पेर भएपनि संसदमा एमालेलाई विपक्षीको बेञ्चमा राख्नेछ । ओली यो कुरा बुझेरै प्रचण्डलाई उकासी रहेका छन् । ओलीले माओवादी केन्द्रका धेरै उम्मेदवारहरूलाई हराउनका लागि सर्कुलर गरेको स्रोतको भनाइ छ ।

Published : Thursday, 2017 November 23, 12:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया