राजपाद्वारा घोषणापत्र सार्वजनिक

महोत्तरी । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आगामी प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

महोत्तरीको जलेश्वरमा बिहीबार राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतोसहितका नेताहरूको उपस्थितिमा ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने चुनावी मूल नारासहित १५ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’ भन्दै राजपाले समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समता मुलक समाज, सार्वभौम नागरिक भन्ने विषयलाई जोड दिएको छ ।

मधेस, थरुहट तथा पहिचान र अधिकारका लागि भएका हरेक विद्रोह र आन्दोलनका क्रममा शहादत दिएका र घाइते भएका हरेक जीवित र शहिदहरुको सपना साकार पार्न, नेपालबाट सबैखाले विभेदको कानूनी रुपमा अन्त्य गर्दै सबै नेपालीको परिचयलाई सम्मान गर्ने विषय घोषणा पत्रमा राखिएको छ ।

राजपाले घोषणापत्रमा अति आवश्यक विषयहरुलाई सर्वाधिक महत्वको सूचीमा राखेको छ । पहिचान, स्थान, अधिकार र स्वाभिमानको संघर्षलाई जारी राख्दै देशको चौतर्फी विकास द्रूत गतिमा हुनुपर्ने भन्दै राज्यले होच्याएको, अलपत्र पारेको र पूर्ण रुपमा वेवास्ता गरेको मधेस र थरुहट क्षेत्रको विकासलाई सर्वाधिक प्राथमिकताको विषय बनाउने जनाएको छ ।

Published : Thursday, 2017 November 23, 12:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया