निगमलाई चीलले दियो धोका

काठमाडौं । राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चील ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ । चिल ठोक्किएपछि जहाजको नाक (अगाडिको भाग) मा ठूलो क्षति पुगेको छ ।

भारतको नयाँदिल्लीबाट शनिबार मध्याह्न काठमाडौं आइपुगेको निगमको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको जहाजमा चिल ठोक्किएको थियो । जहाज अवतरण गरेर धावनमार्गमा कुदिरहँदा चिल ठोक्किएको थियो ।

‘निगमको एयरबस जहाजको अगाडिको भाग (नाक) मा एउटा चिल ठोक्किएपछि ग्राउन्डेड भएको छ,’ त्रिभुवन विमानस्थल स्रोतले भन्यो, ‘जहाजको अगाडिको भागमा ठूलो क्षति पुगेको छ तर पाइलट बस्ने ककपिटमा भने कुनै क्षति भएको छैन । जहाजमा ठोक्किएको चिल पनि मरेको छ । जहाज अब मर्मत नगरी उड्न सक्दैन ।’

जहाजलाई क्याप्टेन श्रवण रिजालले कमान्ड गरेका थिए भने को–पाइलट भोगेन्द्र कठायत थिए । कलसाइन ‘९ एन–एकेएक्स’ र ‘लुम्बिनी’ नाम भएको यो जहाजमा १ सय ३५ यात्रु थिए ।

यो जहाज निगमले दुई वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको थियो । निगमसँग यही सिरिजको अर्को जहाज पनि छ ।

Published : Wednesday, 2017 November 22, 8:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया