प्रचण्डका प्रतिस्पर्धीको घरमा बम, सेनाले लियो ‘एक्सन’

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर दुईस्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले मंगलबार बिहान निष्क्रिय पारेको हो ।

निष्क्रिय पार्दा धुवाँ मात्र आएकाले कम क्षति बनाउने र तर्साउनका लागि बम राखिएको ढकालले बताए । पाण्डे चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । पाण्डेसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा उम्मेदवार बनेका छन् ।

पाण्डेको निवास अगाडि रेडियो कालिका एफएम र टिभी कालिका छ । पछाडि आफ्नै कालिका कन्स्ट्रक्सन छ । घर र कन्स्ट्रक्सनको बीचमा रहेको नहरको डिलमा बम राखिएको थियो । सेनाले पानी नभएको नहरमा बम झारेर निष्क्रिय पारेको थियो ।

Published : Tuesday, 2017 November 21, 12:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया