एमाले र माओवादी ठगहरूको झुण्डः उपेन्द्र यादव

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको वाम गठबन्धन ठगहरुको झुण्ड भएको टिप्पणी गरेका छन् । झूठ बोलेर ठाग्ने र जनतालाई गुमराह गर्ने पार्टीहरू कम्युनिष्ट हुनै नसक्ने यादवले बताए ।

निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाउँपालिका वडा नं. ३ गोविन्दपुरमा फोरम नेपाल र राजपाको संयुक्त सभालाई सम्बोधन गर्दै यादवले भने, ‘वाम गठबन्धन मधेशसहित पूरै देशको लागि घातक छ । ढोंगको खोल ओडेका कम्युनिष्टहरूको असली चरित्र जनताले बुझ्न जरूरी छ ।’

अध्यक्ष यादवले सिंहदरबारले मधेशलाई देख्नै नचाहेको टिप्पणी गरेका छन् । मधेशप्रति सिंहदरबारको नियत ठीक नभएको यादवले आरोप लगाए । यादवले भने, ‘मधेशमाथि कसैले कुदृष्टि राख्ने दिन गयो । जुनसुकै विरोधी शक्तिलाई जवाफ दिन मधेश सक्षम र तयार छ ।’

उनले मधेशमा बहुमत ल्याएर संविधान संशोधन गराई छाड़ने दाबी गरेका छन् । यादवले त्यसका लागि मधेश गठबन्धनलाई विजय गराउन आम जनतालाई अपील गरे ।

सोही कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाको नेपाली कांग्रेसका संयोजक जिब्रील मियाँले फोरम नेपाल र राजपाको मधेश गठबन्धनलाई समर्थन गरेका छन् ।

नेता मियाँले कांग्रेसको केन्द्रीय निर्देशन अनुसार यादवको पक्षमा मसाल चिन्हमा भोट हाल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

सप्तरीको निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य पदका लागि उपेन्द्र यादवलाई कांग्रेसले यसअघि नै समर्थन गरिसकेको छ ।

Published : Tuesday, 2017 November 21, 12:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया