केपी ओलीले एमालेमा भित्र्याए ‘खतरनाक’ ‘बुढो डन’

विराटनगर । एमालेका अध्यक्ष केपी ओलीले चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार उमेश गिरीलाई फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका छन् ।

सोमबार विराटनगरमा आयोजित चुनावी कार्यक्रममा ओलीले अपहरण, फिरौती काण्ड एवम् बुथ कब्जा लगायतका क्रियाकलापमा विवादित गिरीलाई टीका र माला लगाएर एमालेमा भित्र्याएका हुन् । गिरी नेपाली कांग्रेसमा रहेका थिए ।

उमेश गिरीसँगै पूर्वगृहराज्यमन्त्री भीमलाल राजवंशी पनि एमालेमा प्रवेश गरेका छन् । गिरी र राजवंशीसहित अन्य केही व्यक्तिहरू एमालेमा प्रवेश गरेका हुन् ।

चुनावी अभियानमा ओलीसँगै रहेकी गायिका कोमल ओलीसमेत नवप्रवेशीलाई अबीर लगाएर स्वागत गरिन् । पार्टी प्रवेश कार्यक्रममा एमालेका मोरङे नेताहरू गुरु बराल, माओवादी नेता गोपी अछामेसमेतको उपस्थिति देखिन्थ्यो ।

विराटनगरमा एक समय भारतीय गुण्डाहरूको हालीमुहाली रहेका बेला कांग्रेसका उमेश गिरीले मण्डले–कुण्डले परिचालन गरेर गुण्डागर्दीमा आफ्नो सत्ता स्थापना गरेका थिए ।

विराटनगरका चर्चित व्यवसायी तुल्सीराम अग्रवालको अपहरण काण्डका मुख्य योजनाकार गिरी नै मानिन्छन् । खुमबहादुर खड्का गृहमन्त्री भएका बेलामा विराटनगरमा उमेश गिरीको जगजगी चलेको थियो ।

एनआईसी बैंक, कमला रोलिङ लगायतका उद्योग व्यवसायमा संलग्न विराटनगरका चर्चित उद्योगपछि तुल्सीराम अग्रवाल खुमबहादुर गृहमन्त्री भएको समयमा विराटगरको रोडसेस चोकबाट अपहरणमा परेका थिए । त्यस बेला गिरीले फिरौतीमा ५ करोड लिएको आरोप छ ।

गुण्डागर्दीमा संलग्न रहेको भन्दै एमालेका सांसदहरूले गिरीमाथि कारवाही गर्न पटक–पटक संसदमा माग गरेका थिए । तर, उनै व्यक्ति अहिले एमालेमा प्रवेश गरेका छन् ।

उमेश गिरीले कांग्रेसका तर्फबाट सरकारमा रहेका एकेजीबी (अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार) समूहको हितका लागि आरएसएस (रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवा) विरुद्ध काम गरेका थिए ।

उमेशकै छत्रछायाँमा एमालेका नेता तथा उम्मेदवार पर्शुराम बस्नेत, अभिषेक गिरी, सञ्जय थापा, विनायक पन्त, अशोक हुमागाइँ ‘छोटा गुण्डा’हरूले हुर्किएको बताइन्छ ।

उमेश गिरीको पार्टी प्रवेशबारे एमालेकै एक कार्यकर्ताले भने, ‘एमालेमा युवापुस्ताकै डनहरू हुँदाहुँदै बूढा डनलाई भित्र्याइयो । गिरीको प्रवेशले विराटनगरका मारवाडी समुदायलाई त्रसित बनाएको छ ।’

Published : Monday, 2017 November 20, 5:32 pm

1 प्रतिकृया प्राप्त “केपी ओलीले एमालेमा भित्र्याए ‘खतरनाक’ ‘बुढो डन’”

  • केपि जि जवासम्मा तपाईं हरुले उमेश गिरी जस्ता
    लै सम्रथन गर्नु हुन्छ ।देशको उन्नतिता कहिले हुदैना

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया