अहंकारले आँखा नदेख्ने भए केपी ओली, २ महिनापछि प्रहरीलाई कारबाही गर्ने

झापा । एमालेका अध्यक्ष केपी ओलीले अबको दुईमहिनाभित्र वामपन्थीको बहुमतको सरकार बन्दैछ भन्ने हेक्का राखेर काम गर्न प्रहरीलाई चेतावनी दिएका छन् ।

शनिबार साँझ झापाको दमकमा आयोजित आफ्नै निर्वाचन क्षेत्रको चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘प्रहरीलाई हेक्का रहोस्, दुई महिनापछि यो देशमा वामपन्थी सरकार बन्दैछ । त्यही अनुसारको व्यवहार गर्नुहोला ।’

चुनावका बेला शान्ति सुरक्षामा आँच नपुर्‍याउन र कसैको इशारामा गुण्डागर्दी नगर्न ओलीले चेतावनीसमेत दिए ।

ओलीले भने, ‘कुनै सिखण्डीलाई अगाडि सारेर, आफू पछाडि बसेर पान चपाउँदै अर्जुन बन्ने कसैले ठानेका छन् भने कुर्सीबाट उठाएर फाल्ने बामपन्थी सरकार बन्दैछ ।’

आगामी सरकार आफ्नो नेतृत्वमा बन्ने अपेक्षाबाट उत्साहित बनेका ओलीले मञ्चमा प्रचण्डतिर हातको इशाराले देखाउँदै भने भने, ‘हामी अरिंगाल चपाएर आएका मान्छे जिउँदै छौं, अछ्युँ खाएँ, बछ्युँ खाएँ, झुँसे बारुलो !’

एमाले अध्यक्ष ओलीले केन्द्रमा अत्यधिक बहुमतको वामपन्थी सरकार बन्ने र प्रदेश नम्बर १ प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरे ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत आफ्नै चुनावी प्रचार अभियानमा काठमाडौंबाट माओवादी अध्यक्ष प्रचण्ड र बद्री पंगेनी लगायतका कलाकारलाई समेत लिएर शनिबार ओली आइ पुगेका थिए ।

कार्यक्रममा उनले प्रंचण्डलाई मेरा ‘आदरणीय व्यक्तित्व’ भनेर सम्वोधन गरे । झापा आउनुभएकोमा प्रचण्डलाई स्वागत छ भन्दै ओलीले ५ गते चितवनमा प्रचण्डको सभामा सम्वोधन गर्न आफू जान लागेको बताए ।

कम्युनिष्टहरूको एकतामा अब कुनै शंका नगर्न ओलीले आग्रह गरे । उनले भने, ‘अब कम्युनिष्ट एकता भयो, भयो । अत्यधिक बहुमतसहितको वामपन्थी सरकार बन्यो बन्यो । देश भ्रष्टाचारमुक्त भयो भयो ।’

एमाले अध्यक्ष ओलीले देउवा नेतृत्वको सरकारलाई कडा आलोचना गर्दै ‘नालायक’ को संज्ञा दिए । उनले भने, ‘यो नालायक कांग्रेस सरकार हो, ज्ञानेन्द्रले समेत असक्षम नालालक भनेर हटाएको हो ।’

Published : Saturday, 2017 November 18, 9:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया