कम्युनष्टिहरू हो ! पुलको योजना ल्याउने कांग्रेसका राजु खनाल अपराधी हुन् ?
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2017/11/Raju-Khanal-Shankar-Pokhare.jpg?resize=800%2C329)
मंसिर २१ गते आम दंगालीहरूको ध्यान अहिले यहि तिथीले आकर्षित गरेको छ । के होला मंसिर २१ गतेको चुनाव ? कसले मार्ला बाजी ? कतै कतै त यतिसम्म सुनिन्छ ‘आउ एक/एक लाख रुपैयाँ बाजी सरम् ।’ चुनावी बहस संगै मतदाताहरूले चुनाव जित्ने आधारहरू पनि पहिल्याउँदैछन् दलहरूका । आफू समिर्थत दलहरूको जित पक्कापक्की दाबी गर्नेहरूले विपक्षी समर्थकलाई उसको पार्टी या उम्मेदवारका खोटहरू जबरजस्त थोपर्दै पनि छन् । मिथ्या आरोप लगाएर कसैको बदमानसम्म गर्न पछि पर्दैनौ हामी, कसैको बदनाम गरेर के भयो र ? आफूले चुनाव जितिन्छ भने, किन बाँकी राख्ने अरुलाई ? कठै हामीभित्रको सोँच ।
यस्तै निर्वाचनमा उठाइएको एउटा विषय बनेको घोराहीस्थित ‘कटुवा खोला पुल ।’ यहि पुल कसैका लागि चुनाव जिताउने बलियो अस्त्र बनिदिएको छ भने कसैलाई अनाहकमा अपराधीको बिल्ला भिराइदिँदै छ । हो, म दाबीका साथ भन्छु कसैप्रति पुलका सम्वन्धमा लगाईएको अहिलेको आरोप अपराधै हो । अहिले यसलाई चुनावी ऐजेण्डा बनाएर आमनागरिक सामु कसैलाई अपराधीका रुपमा प्रस्तुत गर्न खोजिएको छ । मलाई लाग्छ, यो असल राजनीति पक्कै हैन । राजु खनाल त्यस्ता अभागी नेता हुन् । जसलाई बिकासे योजना आफ्नो जिल्लामा पारेकै कारण अपराधीको बिल्ला भिराइँदै छ । के पुलको योजना पार्नु राजुको अपराध हो ? वर्षौंसम्म कचवेमा चिप्लिएर बढेका दुर्घटना रोकेर सुरक्षित यात्राका लागि पुलको योजना ल्याउने राजु के अपराधी भए ? ल ठीक छ राजु अपराधी भए, खोई त धर्मीहरू ? वर्षौंसम्म यत्तिकै रहेको कटुवा खोला पुललाई चाँडो निर्माण गरेर धर्मी बन्न सक्ने ‘महसुर’ कोही भएन अरु ? कि उनीहरूको दायित्व हैन पुल निर्माण गर्ने ? यदि यसो हो भने जनतालाई भन्न सक्नु पर्यो हामी जनताका प्रतिनिधी हैनौँ, राजु मात्रै हुन् । कमसेकम पुलको योजना त पारे ।
मतदाताहरूको मन आफ्नो व्यक्तिगत प्रभावले जित्न सक्नु असल राजनीति कर्मी हो । तर, अपवाह फैलाएर कसैको नीजि जीवनलाई अपराधी सरह जनता सामु उभ्याएर मत तान्न खोज्नु त्यो अँझ ठूलो अपराध हो ।
कटुवा खोला पुल । वर्षौंदेखि निर्माणाधीन छ । सम्पन्न भैसक्नु पर्ने म्याद पटकपटक सकिए । पुल बनिसकेन । पुल निर्माणका क्रममा भत्काईएको सडकका कारण दुर्घटना बढेका छन् । अँझ त्यसमाथि उड्ने धुलोले मानव स्वास्थ्यमा असर पारिरहेको छ । यो खोलामा पुलको योजना प¥यो । योजना पारे राजु खनालले । आलोचकहरूलाई राजुले यो योजना पारेको हैन भनेर शायद दाबी गर्ने ठाउँ कतै बाँकी छैन । किनकी उनीहरू नै भन्दैछन् ‘राजुले पुल बनाएन । यसर्थ राजु खराव हो , भोट हामीलाई दिनुस्, राजु लाई बिल्कुलै नदिनुस् ।’ संविधानसभा निर्वाचनबाट निर्वाचित भएर संविधानसभा प्रवेश गरेका राजुले पुलको योजना ल्याए । बनाउने काम पनि राजुकै ? राजु संविधानसभा प्रवेश गरेको मिस्त्रीको तालिम लिन हो ? उनी आँफै मिस्त्री बनेर पुल बनाउनु पर्ने थियो ? बेल्चा गैंती बोकेर उनी कटुवा खोलामा धुलाम्य बनेर पुल बनाउनु पर्ने थियो ? हैन, भने पुल बनाउने जिम्मा ठेकेदारको कि योजना पार्ने राजुको ? पुल नबन्नुमा हात कसको ? ठेकेदारको होइन ? यदि हो भने किन राजुलाई पुनः नबनाउने नेता भनेर खोकिरहेका छौँ हामी ? नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले यो पुलको निर्माण जिम्मा लिएका ठेकेदारलाई केही दिनअघि कालोमोसो दले । के त्यो कालोमोसो यो पुलको योजना ल्याउने राजु खनाललाई दलिनु पथ्र्यो ? ल उसो भए राजुलाई अपराधी देखेर आफूलाई विकासको मसिहा ठान्नेहरूलाई प्रश्न ‘सडक क्रान्तिका नायक भनेर चिनाइएका कृष्णबहादुर महराले कहाँ के क्रान्ति गरे ?’ आफ्नो अर्थमन्त्री कार्यकालमा बेहाल अवस्थामा रहेको कटुवा खोला पुल र निर्माणाधीन फोरलेन सडकमा किन रकम पारिदिएएनन् ? बजेट भाषणमा तराईमा सडक बिस्तार गर्ने बहुप्रतिक्षित योजनाको नारा लगाएका तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले दाङको सडकलाई किन बजेट पारेनन् ? यसका साँक्षी कांग्रेस नेता योगेन्द्र चौधरीले विष्णुलाई सोधेका थिए ‘दाङ के तराई हैन ? दाङ तराईमा पर्छ भन्ने तपाईलाई सामान्य ज्ञानपनि छैन ? ’
राजु खनाल त ईमान्दारिताको राजनीति गर्दा रहेछन्, आफूलाई लागेको आरोप सहेका छन्, तर अरुको प्रमाणित कमजोरीलाई चुनाव जित्ने रणनीति बनाएका छैनन् । एमालेका नेता तथा प्रदेश सभाका उम्मेदवार शंकर पोख्रेलले कांग्रेस नेता खनालको बारेमा एक रेडियो अन्तरर्वार्ता दिएको पनि सुनियो । घुमाईफिराई त्यही कटुवा खोला पुल र राजु खनालको आलोचना कति अपाच्य ? राजुले बनाउन सकेनन् भने उनी आफूले किन बनाउन नसकेका त ? योजना ल्याउने सांसदको साटो सडक निर्माणको जिम्मा लिएका सडक डिभिजन कार्यालय, ठेकेदारलाई आलोचना किन नगरेको ? सडकका एकजना ईन्जिनयरले भनेका थिए ‘राजुजीको बारेमा पुलको विषय जोडेर अनर्गल प्रचारबाजी गरिएको छ ।’ ती ईञ्जिनियरलाई पनि राजुकै कार्यकर्ता भनेर प्रचार गरेको सुन्न नपाउँ । राजुको असली कार्यकर्ता ठानेर सरकारी ईञ्जिनियरलाई पनि अपराधीको बिल्ला भिराएको सुन्न नपाईयोस् ।
यस्तो छ कटुवा खोला पुलको कथा
२०७१ साल भदौ ११ गते यो पुलको ठेक्का सम्झौता भयो । ठेक्का सम्झौता अनुसार २०७३ असोज १० गते पुल निर्माण भैसक्नु पथ्र्यो । किन बनेन् ? सडक डिभिजनले उल्लेख गरेका कारणहरू यसप्रकार छन्
१)२०७२ सालको भूकम्प ।
२) २०७२ असोजदेखि चैतसम्मको अघोषित नाकाबन्दी । ईन्धन अभावले कच्चा पदार्थको जोरजाममा ७ महिनासम्म कठिन ।
३) २०७२ वैशाख १ देखि कात्तिकसम्म राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले ढुंगा बालुवा उत्खननमा लगाएको रोक । यही रोकका कारण निर्माण सामाग्रीको अभावमा ७ महिनासम्म काम ठप्प ।
पुल बन्न नसक्नुका यि कारणहरू सडक डिभिजन कार्यालयले उल्लेख गरेको हो । कि यि कारणको लिपिवद्ध पनि राजुले नै गरेका हुन् ?
ठेक्का सम्झौता अवधिसम्म पुल बनेन । पहिलो पटक म्याद थप भयो यो म्याद थप अनुसार गत असोज ६ गतेसम्म काम भैसक्नु पर्थ्यो ।
ठेकेदारको चरम लापरवाहीका कारण पुल निर्माण हुन नसकेको भनेर सडक डिभिजन कार्यालयले ठेक्का रद्दको प्रकृया अघि बढाउने तयारी गरेको छ । पुल निर्माणका दोषी राजु खनाल हुन् भने किन ठेकेदारलाई कारवाही गर्दैछ सडक डिभिजनले ? दोषी राजु हुन् भने उनलाई कारवाही गर्नु पर्दैन ? सडकलाई भन्न सक्छौँ हामी ‘दोषी ठेकेदार हैनन्,राजु हुन् निर्दोष ठेकदारलाई नफसाईयोस् ।’
राजु त्यति क्रुर छैनन् । विकासको योजना ल्याएर नबनोस् भन्ने चिन्तन उनले पक्कै राखेका छैनन् । उनी पनि यो पुल नबन्नुमा उत्तिकै चिन्तित छन् जति उनका आलोचकहरूको चिन्ता छ । प्रतिनिधीसभा सदस्यका उम्मेदवार राजुलाई एउटा मात्रै सन्देश ‘चुनावमा जित या हार स्वाभाविक प्रकृया हो । जित्यौ भने यस्तै पुलका योजनाहरू दाङमा अँझै ल्याउन सक्नु । ताकि आलोचकहरूले त्यो बेला फेरि भनुन् ‘फेरि राजुले पुलको योजना ल्यायो, अब चुनाव जित्न सजिलो हुने भयो ।’
2 प्रतिकृया प्राप्त “कम्युनष्टिहरू हो ! पुलको योजना ल्याउने कांग्रेसका राजु खनाल अपराधी हुन् ?”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यस्ता वाईहात समाचार लेखेर पत्रकारिताकाे बदनाम गर्दै गरेकाे फल अबश्यै भाेग्नुपर्ने छ ।
यस्ता वाईहात समाचार लेखेर पत्रकारिताकाे बदनाम गर्दै गरेकाे फल अबश्यै भाेग्नुपर्ने छ ।सत्य कुरा लुकाउनु भन्दा जनता का सामु ल्याउन ठिक हुन्छ अाखिर दाेषि काे हाे ? जनताले दुःख पाएकाे त घामजस्तै छलर्ङग छ नि हैन र कि कसाे ?