ओलीलाई झापामा कांग्रेसका शर्माले दिए ‘काउन्टर’ जवाफ

‘कांग्रेसले ‘जय नेपाल’ भन्छ, विदेशमा उत्पादन भएको ‘लाल सलाम’ भन्दैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा झापाबाट प्रतिनिधी सभाको उम्मेदवार बनेका विश्वप्रकाश शर्माले कांग्रेस ‘बाघ’ नाम गरेको जनवार रहेको बताएका छन् ।

चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता शर्माले एमालेका अध्यक्ष केपी ओली र एमालेका नेताहरूले कांग्रेसलाई भैँसी, बाह्रसिंगे, बँदेल भनेर गरेको टिप्पणीप्रति काउन्टर दिँदै कांग्रेसलाई बाघ नाम गरेको जनावरका रुपमा चिन्न आग्रह गरेका हुन् ।

स्थानीय तहको निर्वाचनका बेला काँकडभिट्टाबाट एमालेको मेची–महाकाली अभियान सुरु हुँदै गर्दा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसलाई भैँसी भनेर टिप्पणी गरेका थिए ।

ओलीले कांग्रेसलाई भैँसी भनेको टिप्पणीको जवाफ दिँदै युवा नेता शर्माले भने, ‘केपी ओलीले कँकडभिट्टामा बोल्दै गर्दा कांग्रेस भनेको भैँसी हो भन्नुभयो । भैंसीले मजाले बसेर चपाएर बस्छ । उहाँले जे खेख्नुभयो त्यो भन्नुभयो ।’

शर्माले भने, ‘वित्र्तामोडबाट दमक पुगेपछि केपी ओलीले भन्नुभयो कांग्रेस भनेको बाह्रसिङ्गे हो । बाह्रसिङ्गे झाडीमा अडकिएको छ । यता जान अफ्ठ्यारो, उता जान अफ्ठ्यारो भन्नुभयो । सप्तरी पुगेर दुर्घटना हुनु अगाडि कांग्रेस भनेको बँदेल हो । कतिखेर हान्छ टुंगो हुँदैन भन्नुभयो ।’

‘म आदरणीय अध्यक्ष केपी ओलीजीलाई बडा सम्मान गर्दै श्रद्धापूर्वक भन्न चाहन्छु । जनवार नै देख्न मन छ भने कांग्रेस जनवार हो । जनवार हो भन्दै गर्दा कांग्रेस बाघ नाम गरेको जनवार हो भन्ने कुरा नविर्सिदिन अनुरोध गर्छु’, शर्माले चेतावनी दिँदै भने ।

‘कांग्रेसले मुलुकमा भएको हिंसालाई सिकार गर्‍यो र शान्ति स्थापना गर्‍यो । त्यो बाघ नाम गरेको कांग्रेसले संविधान लेख्न नसक्ने अकर्मन्यतालाई सिकार गर्‍यो र देशमा संविधान बनायो’, उनले भने, ‘कांग्रेस झापामा बलियो भएर उभिएको छ । त्यो बाघ झापामा समावेशी रुपमा उभिएको छ ।’

कांग्रेसका युवा नेता शर्माले देशभरि ‘जय नेपाल’को अभिवादन मात्रै गुञ्जिनुपर्ने बताएका छन् । उनले भने, ‘नेपालभन्दा धेरै टाढा सात समुन्द्रपारीको भूमिमा निर्मित भएको ‘लाल सलाम’ होइन नेपालको माटोमा निर्मित भएको ‘जय नेपाल’ गुञ्जिनु पर्छ । यो अभियान तपाईले देशभरि दिनुपर्नेछ ।’

एमालेको खोक्रो राष्ट्रवादका सम्बन्धमा कडा जवाफ दिँदै युवा नेता शर्माले भने, ‘कांग्रेस पहाडमा जाँदा पहाडे जिन्दावाद । मधेसमा जाँदा मधेस जिन्दावाद भन्दैन ।’

‘कांग्रेस मधेसमा उभिएर पहाडे राष्ट्रवाद भन्ने कुरामा सहमत छैन । कांग्रेस काठमाडौंमा उभिएर मधेसलाई गाली गर्ने कुरासँग सहमत छैन’, शर्माले भने, ‘काठमाडौंबाट हेर्दै गर्दा सिक्किम र दार्जिलिङमा लगाएको टोपी फिदिम र ईलाममा लगाएको जस्तो लाग्ने । अनि, धनुषामा लगाएको धोती र टोपी दरभंगामा लगाएको जस्तो सोँच्ने एमाले मनोवृत्ति कांग्रेसमा छैन ।

उनले राष्ट्रियताका लागि पनि नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन सबैमा अपील गरेका छन् ।

Published : Saturday, 2017 November 11, 9:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया