दाङ कांग्रेसका ‘कमाण्डर’ले मुख खोले, विकासको मूल हामीले फुटाएका हौँ (अन्तर्वार्ता)

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको दाङ जिल्लामा एकाएक तात्तिएको छ । नेपाली कांग्रेसले प्रचार प्रसारलाई तीब्रता दिएको छ । ०७० सालमा ५ वटै निर्वाचन क्षेत्रमा क्लिनस्वीप गरेको नेपाली कांग्रेसले फेरि पनि कम्युनिष्टहरूको अधिनायकवाद रोक्न क्लिनस्विपको योजना बनाएको छ ।

कांग्रेसले गरेका विकासका कामलाई कम्युनिष्ट भन्न रुचाउनेहरूले आफूले गरेको भनेर दाबी गरिरहेका छन् । दङ्गाली जनता झुक्काइरहेका छन् । तीन वटै क्षेत्र र प्रदेश सभाका छ वटा क्षेत्रका उम्मेदवारहरूलाई जिताउन कमाण्ड सम्हालेका दाङ कांग्रेसका सभापति र्कीतिबहादुर खड्कासंग पत्रकार बालाराम खड्काले गर्नुभएको कुराकानी :–

निर्वाचनको तयारी कसरी गर्नुर्भएको छ ?

सबै तयारीहरू भएका छन् । पहिलो चरणमा प्रचार प्रसार समितिहरू बनाउने । सम्पर्क कार्यालयहरू खोल्ने । कांग्रेसका क्रियाशील र अगुवा कार्यकर्ताहरूसँग छलफल तथा सम्वाद गर्ने जस्ता प्रारम्भीक कार्यक्रमहरू भइरहेका छन् । अहिले हामी प्रारम्भीक चरणमा छौँ । अब रणनीति बनाएर आक्रामक रुपमा प्रचार प्रसारमा जाने तयारी गरेका छौं ।

दङ्गालीले काग्रेसलाई किन मत दिने ?

प्रजातन्त्र र राष्ट्रियताको सवाल छ । कम्युनिष्टहरू मिलेर आएका छन् । मुलुकमा साम्यवादी व्यवस्था ल्याउन चाहन्छन् । अधिनायकवाद ल्याउने प्रयास गरिरहेका छन् । यो सबै रोक्न हिम्मत नेपाली कांग्रेसले मात्रै राख्छ । कम्युनिष्टहरू कांग्रेससँग मात्रै डराउँछन् ।
फेरि दाङ जिल्लाको विकास नेपाली कांग्रेसले गरेको हो । खुमबहादुर खड्का, बलदेव शर्मा मजगैंया र त्यसपछिका नेताहरूले विकासको मूल फुटाएका हुन् । रोजगारी, स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइलगायतमा कांग्रेसले धेरै काम गरेको छ । त्यस कारणले पनि कांग्रेसलाई दङ्गाली जनताको मत पाउनु पर्छ ।

कम्युनिष्ट पार्टीहरू लोकतन्त्रको पक्षमा छैनन् । कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा गर्नु छ । एमाले र माओवादी केन्द्र विकास विरोधी पार्टी हुन् । उनीहरूले जिते भने जनताको नैसर्गिक अधिकरा खोसिन्छ ।

कांग्रेसले दाङमा केही पनि गरेन भनेर कम्युनिष्टहरूले आरोप लगाइ रहेका छन् नि ?

हरेक परिवर्तनमा कांग्रेसको महत्वपूर्ण भूमिका छ । कांग्रेसले नै यो देशको विकास गरेको हो । कांग्रेसको उदार अर्थनीतिले गर्दा अहिले मुलुकमा आर्थिक उन्नती भएको हो । कम्युनिष्टहरू नियन्त्रित अर्थव्यवस्था चाहन्छन् । यस्तो अवस्थामा विकास हुँदैन । व्यक्तिलाई पैसा बाँडेर देशको विकास हुँदैन । व्यवसाय गर्ने वातावरण बन्यो भने मात्रै देशको विकास हुने हो । लगानीको वातावरण कांग्रेसले बनाएको छ । दाङको इतिहाँस हेर्नुस् सबै विकास कांग्रेसले गरेको हो । वामपन्थीहरू भक्ने मात्रै हुन् । काम गर्दैनन् । एमाले र माओवादीले पनि दाङबाट जितेका थिए । उनीहरूले जितेका बेला दाङमा के–के विकास भयो भन्न सक्नु हुन्छ ? उनीहरूले विकास नै गरेनन् । जे गरे आफूले कमाउने भन्दा अरु केही गर्न सकेनन् । कांग्रेसले गरेका विकासका कामलाई कम्युनिष्ट पार्टीका नेताहरूले दाबी गरेर जनतालाई भ्रम छर्नेभन्दा केही गरेका छैनन् ।

दाङमा कांग्रेसले उठाउने मुद्दा र एजेन्डा के–के हुन् ?

कांग्रेसले धेरै विकासका कामहरू अगाडि बढाएको छ । शिक्षा, स्वास्थ्य, सिँचाइ, बाटोघाटो, उद्योग, प्रदेशको राजधानी बनाउने जस्ता थुप्रै काममा कांग्रेसकै पहलमा काम अगाडि बढेका हुन् । ती योजनाहरूलाई पूर्णता दिन पनि कांग्रेसले जित्नु आवश्यक छ । दाङ जिल्लामा धमाधम निर्माणको काम भइरहेका छन् । सरकारी ढिलासुस्तीले केही ठाउँमा काम हुन सकेका छैनन् त्यसलाई पनि कार्यान्वयन गर्नु छ । समृद्ध, पर्यटनमुखी र आफ्नै पौरखमा बाँच्न सक्ने दाङ बनाउने कुरा हामीले उठाएका छौँ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हामीले बनाएको हो भनेर एमाले र माओवादीले दाबी गरिरहेका छन् कुरा के हो ?

तत्काली प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री भएका बेला राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय भएको हो । स्वास्थ्य विज्ञान बनाउने निर्णय गराउन डा.गोविन्द केसी, कांग्रेसका नेता डा.गोविन्द पोख्रेलको विशेष भूमिका छ । दाङबाट जितेर गएका कांग्रेसका सांसदहरूको विशेष भूमिका छ । तत्कालीन फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीको भूमिका छ ।

तर, एमाले र माओवादी केन्द्रले दाबी गरे जस्तो उनीहरूको भूमिका होइन । उनीहरूले कांग्रेसले सबै कुरा ठिक्क पारिदिएपछि त्यसको जस मात्रै लिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान कसको पालामा निर्णय भएको हो भनेर रेकर्ड हेरे भैहाल्छ नि ! कम्युनिष्टहरू भनेका कांग्रेसले गरेको कामलाई मैले गरेको हुँ भनेर दाबी गर्ने मात्रै हुन् । एमालेबाट अर्थमन्त्री बनेका एमालेका नेता विष्णु पौडेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रुपन्देहीमा लैजान दबाव दिएका थिए । उनले बजेट भाषणमै त्यो कुरा राखेका थिए । कांग्रेसले विरोध गरेपछि बाध्य भएर घोराहीबाट रुपन्देही लैजान नसकेका हुन् ।

दाङलाई प्रादेशिक राजधानी बनाउने पनि हामीले पहल गरेको हो भनेर कम्युनिष्टहरूले भन्दै छन् नि ?

कदापि पनि एमाले र माओवादी केन्द्रले त्यस्तो पहल गरेका होइनन् । तत्कालीन सिँचाइ मन्त्री एवम् कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी र दाङ कांग्रेसका सांसदहरूको पहलमा प्रादेशिक राजधानी बनाउन पहल भएको हो । दीपक गिरीले तुलसीपुरमा उच्च अदालत ल्याउन ठूलो संघर्ष गर्नुभएको हो । त्यही उच्च अदालतले गर्दा प्रहरीको ५ नं. प्रदेशको एआईजी कार्यालय तुलसीपुरमा आएको छ । एमालेका नेता विष्णु पौडेल, घनश्याम भुसाल, माओवादी केन्द्रका टोपबहादुर रायमाझीसहितका नेताहरू अहिले पनि ५ नं. प्रदेशको राजधानी बुटवल लैजान प्रयासरत छन् ।

Published : Thursday, 2017 November 9, 8:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया