दाङमा कांग्रेसले गरेका काममा कम्युनिष्टहरूको दाबी

घोराही । नेपाली कांग्रेस दाङले विभिन्न समिति र उपसमितिहरूले चुनावी अभियानलाई तिब्रता दिएका छन् ।

दाङका ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले आक्रामक चुनावी प्रचार सुरु गरेको जिल्ला सभापति र्कीतिबहादुर खड्काले जानकारी दिए ।

प्रचारका लागि निवर्तमान सांसद अनिता देवकोटासहित जिल्लाका अगुवा नेताहरू सहभागी भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर ६ को गुरुवागाउँ, वडा नम्बर ७ को सौडियार, वडा नम्बर १७ कर्जाही, पनौरा लगायतका स्थानमा अगुवा नेता कार्यकर्तासँग बुधबार दिनभरि भेटघाट कार्यक्रम भएका छन् । यी स्थानमा सम्पर्क कार्यालय पनि स्थापना गरिएको छ ।

क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजु खनालले देशको हरेक विकासमा कांग्रेसले सधै नेतृत्व दायि भूमिका निभाएको बताए ।

उनले कांग्रेसले गरेको विकासका कार्यक्रममा कम्युनिष्ट पार्टीका उम्मेदवारहरूले दाबी गरिरहेको भन्दै कांग्रेसले धेरै गफ नगर्ने बताए ।

‘कांग्रेस पार्टी भनेको काम गर्ने हो’, खनालले भने, ‘कम्युनिष्टहरू आफूले पनि नगर्ने । अरुले गरेको कामलाई मैले गरेको हुँ भनेर दाबी गर्ने पुरानो प्रवृत्ति हो ।’

कांग्रेसको पालामा कांग्रेसका मन्त्री र सांसदहरूको पहलामा दाङलाई प्रदेश ५ को राजधानी बनाउने पहिलो निर्णय गरेको निवार्तमान सांसद अनिता देवकोटाले बताइन् । कम्युनिष्टहरूले कहिले पनि दाङलाई प्रदेशको राजधानी बनाउन नचाहेको आरोप लगाइन् ।

कांग्रेस नेतृ देवकोटाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा आएको उत्साहले वामपन्थी पार्टीका नेताहरूको मनोवल गिरेको बताइन् ।

कमिरेचौरमा सम्पर्क कार्यालय स्थापना

निर्वाचन क्षेत्र नम्बर २ ‘क’को बंगलाचुली गाँउपालिका कमिरेचौरमा बुधबार सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

क्षेत्रीय सभापति गिरिराज सुवेदीसहितका नेताहरूले सम्पर्क सम्पर्क कार्यालय स्थापना गरेका हुन् । प्रदेश सभा सदस्यका उम्मेदवार कमल किशोर घिमिरेले कांग्रेस सधै जनताको सुःख दुःखमा रहने पार्टीको संज्ञा दिए ।

बंगलाचुली गाँउपालिकामा प्रचार–प्रसार मूल समिति गठन गरिएको छ । स्थानीय कांग्रेसका नेता जागेश्वर अधिकारीको संयोजकत्वमा ७७ सदस्यीय समिति गठन गरिएको छ ।

सल्लाहकार र अनुगमन समिति गठन

निर्वाचन क्षेत्र नम्बर २ मा सल्लाहकार र अनुगमन समिति गठन गरिएको छ । क्षेत्रीय समितिको बुधबार घोराहीमा बसेको बैठकले तीर्थराज ज्ञवाली ‘चैतु’को संयोजकत्वमा रहेको सल्लाहकार समिति गठन गरिएको छ । पूर्वसभापति वीरकेश्वरी गौतमको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको दाङ कांग्रेसले जनाएको छ ।

सल्लाहकार समिति कृष्णकिशोर घिमिरे, तिलकबहादुर डाँगी, विनोद पोख्रेल, कुमुद पोख्रेल, डा. अर्जुनकुमार बुढाथोकी, डा.वीनबहादुरसिंह ओली, निर्मलकुमार देवकोटा, शिव सुवेदी, भोजराज पाण्डे र नारायण भण्डारी लगायत रहेका छन् ।

अनुगमन समितिमा घनश्याम रेग्मी, अनिता देवकोटा, लेवेन्द्र धिताल, खगराज पाण्डे, हरि रजौरिया, सुशीला थापा, टेकबहादुर डाँगी रहेका छन् ।

दलित संघको क्षेत्रीय प्रचार समिति गठन

निर्वाचनका लागि दलित संघ क्षेत्र नम्बर ३ ले प्रचार–प्रसार समिति गठन गरेको छ । क्षेत्रीय समितिको बैठकले केशव नेपालीको संयोजकत्वमा ७५ सदस्यीय प्रचार समिति गठन गरेको हो । समितिमा कांग्रेस निकट दलित नेता तथा कार्यकर्ता रहेका छन् ।

Published : Wednesday, 2017 November 8, 8:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया