स्वर्गद्वारी र धारपानीमा निःशुल्क आँखा शिविर

घोराही । बेलायतमा कार्यरत नेत्र विशेषज्ञहरूको टोलीले नेपालको एक प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा निःशुल्क आँखा उपचार शिविर सन्चालन गरेका छन् ।

नेप्लीज डक्टर्स एसोसियसन युकेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेत्र चिकित्सक डा.भरत श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्यूठान जिल्लामा पर्ने स्वर्गद्वारीमा निःशुल्क आँखा जाँच गर्नुका साथै औषधि वितरण पनि गरेको हो ।

गत कात्तिक ५, ६ र ७ गते आयोजित शिविरमा झण्डै सात सयभन्दा बढी बिरामीहरूको आँखा जाँच गर्नुका साथै २ सय ६० जनालाई चश्मा वितरण गरिएको थियो ।

टोलीले २० जना मोतिविन्दुका बिरामीहरूलाई उपचार खर्च सहयोग पनि गरेको थियो ।

बेलायतस्थित रोयल आइ इन्फर्मेरी डेरिफोर्ड हस्पिटल, प्लेमथ हस्पिटल एनएचएस ट्रष्ट तथा पाण्डवेश्वर महादेव धारापानी मन्दिर व्यवस्थापन समिति, दाङको संयुक्त आयोजनामा दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिर, धारापानीमा पनि एक दिने निःशुल्क आँखा जाँच तथा औषधि वितरण शिविर सञ्चलन गरेको थियो ।

शिविरबाट झण्डै साढे चारसय जना बिरामीहरू लाभान्वित भएको शिविरका आयोजक ध्रुवराज श्रेष्ठले बताए । सोही अवसरमा अढाइ सय जनालाई चश्मा पनि वितरण गरिएको थियो ।

डा. भरत श्रेष्ठले शिविरमा आँखा जँचाउन आएकाहरूमध्ये झण्डै ६० प्रतिशतमा मोतिविन्दु रहेको जानकारी दिए ।

त्यसबाहेक २० प्रतिशतमा जलविन्दु र बाँकीमा आँखा सम्बन्धी अरु समस्याहरू पाइएको थियो । शिविरमा डा.श्रेष्ठका साथै डा.एलिसन माउन्ट, डेभिड एडम्स, पाम एडम्स, ग्राहम लेन कोतेस, जिना एलिजाबेथ कारलिसेलले बिरामीहरूको जाँच गरेका थिए ।

यसअघि गत वर्ष डा.श्रेष्ठकै नेतृत्वमा नेपाल गएको ब्रिटिश नेत्र विशेषज्ञहरूको एक टोलीले भक्तपुरस्थित बीपी कोइराला बाल अस्पतालमा बिरामीको निःशुल्क आँखा जाँच तथा उपचार गरेको थियो । तिलगंगा आँखा अस्पतालमा एक सेमिनार पनि गरेको थियो ।

Published : Wednesday, 2017 November 8, 4:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया