दाङमा एमाले–माओवादीलाई ‘काउन्टर’ दिँदै कांग्रेस नेता गिरी

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले व्यक्तिभन्दा पनि लोकतन्त्र र विकासका लागि काम गर्ने कांग्रेसका उम्मेदवारहरूलाई चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न अपील गरेका छन् ।

कांग्रेसबाट दाङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका उम्मेदवार गिरीले तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर ७ पर्सेनीमा मंगलबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले मात्रै संविधान, लोकतन्त्र र विकासका लागि काम गर्ने बताए ।

‘जंगलमा रहेको माओवादीलाई गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा ल्याउनु भएको हो’, उनले भने, ‘कांग्रेसले मात्रै मुलुकलाई समृद्धि, विकास र लोकतन्त्रमा लैजान सक्छ ।’

दाङसहित मुलुकभरि कांग्रेसबाट उम्मेदवार बनेका उम्मेदवारहरूले जितेपछि मात्रै संघीय लोकतान्त्रिक संविधानको रक्षा हुने केन्द्रीय सदस्य गिरीले बताए ।

‘लोकतन्त्रलाई मासेर साम्यवादी निरंकुश व्यवस्था ल्याउने लक्ष्यसहित कम्युनिष्टहरू लागेका छन्’, उनले भने, ‘कम्युनिष्टहरूको भित्री कुरा बुझेरै निर्वाचनमा कांग्रेसले जनताको पक्षमा अभिव्यक्ति दिएको छ ।’

स्थानीय निर्वाचनमा कम्युनिष्टहरूको गलत नारामा झुक्किए जस्तो अबको निर्वाचनमा मतदाताहरू नझुक्किने गिरीले बताए ।

पूर्वमन्त्री समेत रहेका नेता गिरीले कांग्रेसले दाङ जिल्लामा वृहत्त दाङ सिंचाइ आयोजना गरेको बताए । ‘म सिँचाइ मन्त्री बनेका बेला दाङमा ३३ करोड बजेट ल्याएको छु ।

सिचाइका लागि काम सुरु भइसकेको छ’, उनले भने, ‘दाङको सिँचाइ, सडक लगायत हरेक विकासमा कांग्रेसको ठूलो योगदान छ । कम्युनिष्टहरूले बोल्ने मात्रै हुन् । कांग्रेसले काम बोल्छ । धेरै काम गर्छ ।’

एमाले–माओवादीले दाङमा कांग्रेसविरुद्ध लक्षित गरेर भ्रामक अभिव्यक्तिहरू दिइरहेका बेला कांग्रेस नेता गिरीले उनीहरूलाई कडा जवाफ दिएका हुन् ।

Published : Tuesday, 2017 November 7, 7:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया