बिक्रम पाण्डेले ‘प्रचण्ड’ चितवनमा नभएका बेला गरे ‘चकित’ पर्ने काम

चितवन । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाँदा लाग्ने गरेको कर हटाइएको बताएका छन् ।

चितवनमा मंगलबार पत्रकारसँग कुरा गर्दै उनले सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निकुञ्जमा लाग्ने कर हटाउने निर्णय गरी राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको बताए । अबको केही दिनमा नै सो निर्णय कार्यान्वयनमा आउने पाडेले जानकारी दिए ।

माडीवासीले सदरमुकाम आउँदा जाँदा प्रत्येक पटक शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै मन्त्री पाण्डेले शुल्क हटेसँगै माडीवासीलाई सहज हुने बताए ।

अहिले माडीवासीले भरतपुरबाट माडी जानका लागि मोटरसाइकल, बयलगाडा र टाँगाको रु १० कर तिर्दै आएका थिए । बस, कार, जिप, ट्याक्टर, लरीलगायत पाँच टनसम्मका सवारी साधनले रु ५० शुल्क तिर्ने गरेका थिए । यससँगै माडीवासीले राहत महसुस गरेका छन् ।

मन्त्री पाण्डेको निर्णयले चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ठूलो झट्का लागेको छ ।

माडीमा दर्जनौं सर्वसाधारणको हत्या गरेको अभियोग लागेका प्रचण्डले अहिले पनि सो क्षेत्रका जनतासँग प्रत्यक्ष रुपमा भेटेर कुरा गर्न आनाकानी गर्दै आएका छन् । दुई दिन अगाडि पनि बाँदर मुडेका पीडित परिवारसँग भेट्ने भने पनि प्रचण्डले नभेटेको पीडित समितिका अध्यक्षले विज्ञप्ति जारी गरेर जनाएका थिए ।

मन्त्री पाण्डेले माडी जाँदा र भरतपुर आउँदा निकुञ्जभित्र पर्ने सडक छेउमा आवागमन गर्न असहज भएका रुख काटिसकिएको बताउँदै निकुञ्जभित्रको सडक एक वर्षभित्र कालोपत्रे गर्ने कामका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

‘माडी क्षेत्रमा छिट्टै जडीबुटी उद्योग स्थापना गरिने छ, सो क्षेत्रमा पाइने जडीबुटीलाई प्रयोग गर्दै उद्योग सञ्चालन गरिने छ’, मन्त्री पाण्डेले भने । यसका लागि इजरायली प्रविधिबाट खेती गर्ने र कृषिमा आधुनिकीकरण भित्र्याउन लागिएको उनको भनाइ थियो ।

चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)का प्रचण्डसँग प्रतिनिधिसभा सदस्यमा चुनावी प्रतिस्पर्धा गरिरहको मन्त्री पाण्डेले अनावश्यक आश्वासन दिएर जनता झुक्याउने काम नगर्न आग्रह गरे । निकुञ्ज क्षेत्रमा आकाशे पुल वा सुरुङ मार्ग सम्भव नरहेको बताउँदै उनले चितवनका जनताले यो कुरा राम्रोसँग बुझेका बताए ।

Published : Tuesday, 2017 November 7, 5:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया