लेखेर राख्नुस् कांग्रेस पहिलो दल बन्छ : प्रकाशमान सिंह

काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले कांग्रेसको तर्फबाट भाबी प्रधानमन्त्रीको उम्मेदवार आफू नै भएको दाबी गरेका छन् ।

काठमाडौंमा सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनाव विशेष साक्षात्कारमा सिंहले आफू पार्टीको उपसभापति र सरकारको उपप्रधानमन्त्री भैसकेको बताउँदै कांग्रेसको तर्फबाट भाबी प्रधानमन्त्रीको उम्मेदवार आफू नै भएको स्पष्ट पारे ।

उनले भने, ‘म सबै हिसाबले पार्टीको तर्फबाट अबको प्रधानमन्त्री बन्न योग्य र सक्षम उम्मेदवार हुँ । यसमा कुनै प्रश्न गर्नुपर्छजस्तो मलाई लाग्दैन् ।’

कांग्रेस नेता सिंहले यो निर्वाचनमा कसैको पनि बहुमत नआउने दाबी गरे । उनले कांग्रेस नै अबको सबैभन्दा ठूलो पार्टी बन्ने बताएका छन् ।

उनले भने, ‘काठमाडौंका जनताले लगातार विश्वास गरेर मलाई विजयी गराउँदै आउनुभएको छ । मलाई मन पराउनुभएको छ । म उपसभापति भैसकेको व्यक्ति हुँ । कांग्रेसबाट काठमाडौं उपत्यकाबाट कोहीपनि प्रधानमन्त्री अहिलेसम्म हुनुभएको छैन । अब यहाँका जनताले मलाई प्रधानमन्त्री भएको हेर्न चाहानुभएको छ ।’

काठमाडौंका जनताहरूले सपना बाँढ्नेहरूलाई मत नदिने भन्दै काम गर्ने पार्टी र नेतालाई विजयी गराउने उनले आग्रह गरे ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ८ वटा क्षेत्रमा कांग्रेसले जित निकाल्ने नेता सिंहको दाबी छ ।

उनले भने, ‘काठमाडौंंमा ८ वटा निवार्चन क्षेत्र कांग्रेसले विजयको झण्डा फराउनेछ । हेर्दै जानुहोस् मंसिर २१ पछि देशभर कांग्रेसको विजयीको संख्या एकपछि अर्को थपिँदै जानेछ ।’

Published : Monday, 2017 November 6, 12:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया