कांग्रेसले गरेको विकासबाट एमाले–माओवादी आत्तिए : दीपक गिरी

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् दाङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका उम्मेदवार दीपक गिरीले कम्युनिष्टहरूको साम्यवादी विचारलाई परास्त गर्नका लागि कांग्रेसका उम्मेदवारहरूलाई मतदान गर्न अपील गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा आइतबार आयोजित चुनावी कार्यक्रमहरूमा कांग्रेसका प्रभावशाली नेता गिरीले कांग्रेसको उदार अर्थनीति, विकास, लोकतन्त्रप्रतिको प्रतिवद्धताबाट डराएर एमाले–माओवादी केन्द्रले वाम गठबन्धन बनाएको आरोप लगाए ।

‘कांग्रेससँग एमाले र माओवादीलाई ठूलो डर छ’, उनले भने, ‘कम्युनिष्टहरू नेपालमा साम्यवादी व्यवस्था ल्याउन चाहन्छन् । जनतालाई नियन्त्रणमा राख्न चाहेका छन् । कांग्रेसले जनतामाथि हैकम गर्न खोज्ने कम्युनिष्टहरूको योजना पूरा हुन दिन्न ।’

कांग्रेसका तत्काली सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनाइएको संघीय लोकतान्त्रिक संविधान रक्षा र कार्यान्वयनका लागि मतदाताहरूले कांग्रेसलाई नै मतदान गर्नुपर्ने बताए ।

पूर्वसिंचाइ मन्त्री गिरीले आइतबार नै जिल्ला निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई भेट गरी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित बनाउन आग्रह गरेका छन् । उनले निर्वाचन आचार संहितालाई पनि कडाइका साथ लागू गर्न सुझाव दिएका छन् ।

‘निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नुपर्छ’, कांग्रेस नेता गिरीले भने, ‘आचार संहिता पूर्ण रुपमा कार्यान्वयन गर्न कांग्रेस र कांग्रेसका उम्मेदवारहरू प्रतिवद्ध छन् । सबै प्रकारको सहयोग गर्छन् ।’

यसैबीच, दाङ जिल्लाबाट उम्मेदवार बनेका सबैले निधन भएका कांग्रेसका होनहार कार्यकर्ता डुरुवा कोठरीका श्याम योगीको घरमा पुगेर श्रद्धाञ्जलि प्रकट गरेका छन् । पार्टी सभापति र्कीतिबहादुर खड्काले पार्टीको झण्डा ओढाएका थिए ।

डुरुवाकै पहलीमा स्थानीय कांग्रेसका कार्यकर्ता खड्गबहादुर डाँगीको निधनप्रति पनि दाङ कांग्रेसका नेताहरूले दुःख व्यक्त गर्दै घरमा पुगेर समवेदना प्रकट गरेका छन् ।

Published : Sunday, 2017 November 5, 7:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया