प्रचण्डकी बुहारीलाई हराउन मैदानमा आए देउवाका खास मान्छे, तनावमा लाजिम्पाट

महेन्द्रनगर । ४ वर्षपहिले २०७० सालको ‘दोस्रो’ संविधानसभाको निर्वाचनका बेला प्रधानमन्त्री एवं कांग्रेस सभापति (तत्कालीन वरिष्ठ नेता) शेरबहादुर देउवाले कञ्चनपुर क्षेत्र नम्बर १ का मतदातालाई भनेका थिए– ‘दिवान विष्टलाई जिताउनुस्, कलुवापुर–बेलोरी सडक पिच हुन्छ ।’

देउवाले भनेअनुसार कञ्चनपुर क्षेत्र नम्बर १ का मतदाताले बेलौरी नगरपालिका ४ नम्बर वडाका बासिन्दा कांग्रेस उम्मेदवार विष्टलाई ४ वर्षका लागि सांसद निर्वाचित गरे । त्यहाँका मतदाताले जिल्लाको दक्षिणी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सडक कालोपत्रे हुने आशमा एमाले र माओवादी उम्मेदवारलाई छाडेर कांग्रेसलाई भोट दिएर जिताए ।

कांग्रेसको जितसँगै वर्षाैदेखि चुनावी एजेण्डा बनेको तर कार्यान्वयन नभएको कलुवापुर बेलौरी सडकमा कालोपत्रेको काम सुरु भयो । र, सांसद दिवान विष्टको कार्यकालमा २८ दशमलव ८३ किलोमिटर लम्बाई रहेको सडक झण्डै ६० प्रतिशत कालोपत्रे भइसकेको छ । सडक डिभिजन कार्यालयका अनुसार अबको १ वर्ष अर्थात २०७५ असारसम्म कालोपत्रे सक्नेगरी ठेकेदारले काम गरिरहेका छन् ।

यो त भयो कांग्रेसबाट २०७० सालमा निर्वाचित सांसद दिवान विष्टको जनतासँग वाचा पूरा गरेको उदाहरण । राष्ट्रिय चासोको रुपमा रहेको कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी विना मगरलाई हराएर सांसद बनेका विष्टले वितेको ४ वर्षे कार्यकालमा जनताको हितमा सक्दो काम गरेका छन् । खासगरी उनले आफ्नो क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै ४ वर्षे कार्यकालमा थुप्रै कामको थालनी गरे ।

उनै विकासप्रेमी जनप्रतिनिधि फेरि चुनावी मैदानमा उत्रिएका छन् । कञ्चनपुर १ मा आफूले सुरु गरेका विकासका कामलाई पूरा गर्न आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विष्ट उम्मेदवार बनेका छन् । उनको प्रतिस्पर्धा एमाले–माओवादीको वाम गठबन्धनकी साझा उम्मेदवार विना मगरसँग हुँदैछ ।

यस्ता छन् दिवान विष्टको कार्यकालमा भएका कामहरू

बेलौरीदेखि पूर्नवाससम्मका गाउँपालिकालाई नगरपालिका बनाउन पहल, परासनदेखि महेन्द्रनगर १०० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्कासम्मका काम विष्टको कार्यकालमा भएका छन् । त्यस्तै, नापी र मालपोतको सदरमुकाम महेन्द्रनगरको अड्डा तोडेर बेलौरीमा शाखा खोल्ने काम पनि उनले नै गरे । यससँगै सरकारी अड्डा जनताको घरदैलोमा आइपुग्यो र सदरमुकाम जानुपर्ने बाध्यता हट्यो ।

त्यस्तै, आँखा अस्पतालको शाखा बेलौरीमा स्थापना, आयुर्वेदको शाखा, १५ सय शैय्याको अस्पताल, विद्युतको शाखा बेलौरीमा, बेलौरीमा एमएमबीएस डाक्टरको व्यवस्था, बेलौरी र बेल्डाँडीमा एम्बुलेन्स, परासनको दुर्गम बीचफाटामा एम्बुलेन्स, ठाउँ ठाउँमा अस्पताल (स्वास्थ्य चौकी) भवन निर्माण, इप्रका भवन निर्माण बेलौरीदेखि शिवनगरसम्म विभिन्न ठाउँमा खानेपानी ट्यांकी ठेक्का, बेल्डाँडीको सिद्धचोक, इम्लिया, झिलमिला, बैवाह, खानेपानी निर्माणको काम पनि उनको कार्यकालमा भएको छ ।

यातायातमा कलुवापुर–बेलौरी सडक कालोपत्रेका साथै डोकेबजार, पूर्नवास, बेलौरी, बेल्डाँडी, दैजीसम्मको ६२ किलोमिटर सडक पिचका लागि पहल, बैजधारा, धाराकोट, शान्तिकोटको पनि डिपिआर ठेक्का भइसकेको सांसद विष्टले बताए । ढल निकासमा पनि उनले उल्लेख्य बजेट पार्न सफल भएका छन् । ‘ढल निकास र व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा २० लाख ९३ हजार आइरहेको छ,’ उनले भने ।

त्यस्तै, विष्टको पालमा भएको अर्काे महत्वपूर्ण काम हो परीक्षा सेन्टर स्थापना । यसका लागि उनले अनेकौ पापड पेल्नुपर्यो । यसअघि बेलौरीसहित १ नम्बर क्षेत्रका क्याम्पसका विद्यार्थी परीक्षा दिन महेन्द्रनगर र धनगढी जान बाध्य थिए । तर, विष्टको पालामा जिल्ला शिक्षा कार्यालयले बेलौरीमा परीक्षा सेन्टर तोक्यो । ‘जिल्ला शिक्षाले त मिल्दैन् भन्दैथियो । मैले माथिबाटै दबाब हालेर परीक्षा सेन्टर खोल्न बाध्य पारे । हाम्रा छोराछोरीले अहिले आफ्नै आँगनमा परीक्षा दिन पाएका छन्,’ विष्टले भने ।

वैशाखा भन्सार, नयाँ गाउँ, बरहैया, कलकत्ता बाँडेगाउँ हुँदै चिनीमिल खैरघाट सडक ठेक्का भइसकेको, थापा चौराहदेखि पूर्नवास, वाइसेविचवा, डिपिआर ठेक्का प्रक्रियामा, बेलौरीको भुराकोटदेखि रिचागाउँ हुँदै शान्तिपूरसम्म ठेक्का प्रक्रियामा, परासनको बीचफाटादेखि खिटैया बुटावारी, साइटोल, डाडाभकुण्डा हुँदै ठूलो सिंहपुर, कुण्डा हुलाकीसम्म जोड्ने सडक ठेक्का भइसकेको, बाइसेविचवाको आर्यघाट हुँदै पचगडिया, त्रिभुवनवस्तीसम्म १५ किलोमिटर ठेक्का, चान्देउ, रामनगर, भकुण्डा, सिञ्जुसम्म ठेक्का प्रक्रियामा रहेको विष्टले सुनाए ।
‘भुँडा– शिवनगर–खैरीघाट–रतनपुरका ठाउँ ठाउँमा १७ वटा साना सडक कालेपत्रे भएका छन्,’ उनले भने– ‘बेल्डाँडी १ बाट रौलेश्वर स्कुलसम्म १२ मिटर चौडाईमा ७ मिटर सडक पिच भएको छ ।’

उनले क्षेत्र नम्बर १ को प्रमुख सहर बेलौरी (जो जिल्लाको पूरानो सदरमुकाम पनि हो)लाई हुलाकी सडकसँग जोड्नेगरी स्मार्ट सिटी बनाउने प्रण लिएका छन् । त्यसका लागि उनले योजनासहित ४ करोड बजेट छुट्याउन सफल भएका छन् ।

त्यस्तै, विष्टले क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा पुल निर्माणका लागि पहल गरेका छन् । भकुण्डामा पुल निर्माणको ठेक्का, बेलौरी–१० सुगरमिल अगाडि खैरघाट जोड्ने, सिमलडाडा, रौतेलीविचवा, दैजी खोलामा ठेक्का, पथरिया नालामा पुलको ठेक्का (७ करोड), स्याली, वाइसेमा सर्वे भएर २२ वटा पुल ठेक्का प्रक्रियामा रहेको विष्टले बताए । अन्य थुप्रै कामहरु उनको पालमा भएका छन् ।

विष्टको राजनीतिक यात्रा

२०२९ सालदेखि बेलौरी ४ मा बस्दै आएका विष्ट २०३४ सालदेखि नेविसंघबाट राजनीति सुरु गरेका व्यक्ति हुन् । २०४८/०४९ मा क्षेत्रीय सभापति भएका विष्ट ५१ म बेलौरी नगर विकास समितिको अध्यक्ष बने । र ५४ देखि कांग्रेसको जिल्ला सदस्य बने ।

पार्टीको ११ औं र १३ औं राष्ट्रिय महाधिवेशनमा महासमिति सदस्य भइसकेका उनी शुक्लाफाटा आरक्ष समस्या समाधान आयोगको अध्यक्ष समेत बने । २०७० सालको चुनाव ११९४ मतले जितेका दिवान विष्ट भन्छन्– मेरो जित्ने आधार विकास नै हो ।

उनले एमाले उम्मेदवारलाई ११९४ मतले हराएका थिए भने विना मगर १०० मत कम ल्याएर तेस्रो भएकी थिइन् । तर, यसपटक अब विष्टको भीडन्त विनासँग नै हुनेछ । किनभने एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भई यो क्षेत्र माओवादीको भागमा परेको छ । र, प्रचण्डले बुहारी विनालाई उम्मेदवार बनाएका छन् । यो चुनावमा बुहारी जिताउन प्रचण्डले केन्द्रबाट सम्पूर्ण शक्ति परिचालन गर्नेछन् ।

यस्तोमा तपाईको चुनाव जित्ने आधार के भन्ने प्रश्नमा विष्ट फेरि पनि भन्छन्– ‘मैले गरेका विकास निर्माणका काम नै मेरो जितका आधार हुन् । अर्काे म त्यहीको स्थानीय हुँ, काठमाडौंमा बसेर गाउँमा राजनीति गर्न आएको पनि छैन् । यहाँ जनताले यो कुरा बुझेका छन् भन्ने मलाई लाग्छ ।’

Published : Sunday, 2017 November 5, 6:20 am

1 प्रतिकृया प्राप्त “प्रचण्डकी बुहारीलाई हराउन मैदानमा आए देउवाका खास मान्छे, तनावमा लाजिम्पाट”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया