केपी ओलीले मतदाताहरूलाई ‘मुर्ख’ भनेर गाली गरे

झापा । एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस र धोखाको जन्मसँगै भएको भन्दै कांग्रेसका कुरा पत्यानु मुर्ख बन्नुबाहेक अरु केही नहुने बताएका छन् ।

झापामा उम्मेदवार मनोनयनपछि आयोजित सभालाई बिहीबार सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेस र धोखा सँगै जन्मिएका हुन् । कांग्रेसलाई पत्याउनु भनेको आफैं मूर्ख बन्नु हो ।’

झापा– ३ मा वामपन्थी गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई समर्थन गरिएको सन्दर्भमा कार्यकर्ताका असन्तुष्टि सम्बोधन गर्दै ओलीले एक सिट गयो भनेर चित्त नदुःखाउन आग्रह गरे ।

उनले देश बनाउने अभियानमा सबैलाई समेट्न खोज्दा लिङ्देनलाई समर्थन गरिएको बताए ।

एमालेको २० हजार मत रहेको झापा ३ मा १२ हजार मत रहेको राप्रपालाई छाडेको भन्दै एमालेभित्र असन्तुष्टि पैदा भएका बेला ओलीले उम्मेदवार मनोनयनकै दिन साम्य पार्ने प्रयास गरे । उनले भोट र सिट गनेर नबस्न एमालेका कार्यकर्तालाई आह्वान गरे ।

उनले गठबन्धनका उम्मेदवार सबैलाई आफ्नै ठानेर मतदान गर्न एमाले कार्यकर्तालाई आह्वान गरे । ओलीले भने, ‘माओवादीसँग त हामीले पार्टी एकतानै गर्ने भइसक्यौं । राप्रपाका लिङ्देनजीहरू केही दिन कांग्रेसलाई पत्याएर मूर्ख बन्नुभयो, अब हामीसँगै आउनुभएको छ ।’

ओली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाविरुद्ध पनि आक्रामक ढंगले प्रस्तुत भए ।

देउवाले वामपन्थी गठबन्धनले जिते देशमा अधिनायकवाद आउँछ भनी दिएको अभिव्यक्तिप्रति ओली आक्रोशित थिए ।

Published : Thursday, 2017 November 2, 9:21 pm

1 प्रतिकृया प्राप्त “केपी ओलीले मतदाताहरूलाई ‘मुर्ख’ भनेर गाली गरे”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया