माओवादीका ‘ज्यानमारा’ नेता बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं । व्यक्ति हत्या अभियोगमा सर्वस्वसहित आजीवन काराबासको सजाय पाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।

ओखलढुंगाका स्थानीय उज्जन कुमार श्रेष्ठ हत्या मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भइ फरार रहेका नेकपा माओवादी केन्द्रका नेता ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो ।

ढुंगेललाई बिहान ललितपुरको सातदोवाटोबाट पक्राउ गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहितलाई ज्यान मार्ने धम्की दिएको भन्दै ढुंगेललाई पक्राउ वारेन्टसहित सर्वोच्च अदालतमा २०७३ चैत ३० गते रिट दायर भएको थियो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्वसभासद् ढुंगेललाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरू सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको थियो ।

सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

सर्वोच्च अदालतको निर्णय कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध मुद्दा दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्यालविरुद्ध हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर गरेका हुन् ।

Published : Tuesday, 2017 October 31, 12:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया